पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धएयरद्वारा आगामी फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धएयरद्वारा आगामी फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने तयारी


  • जन संचार
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 4.7K
    Shares

पोखरा सेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धएयरले आगामी फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने तयारी गरेको खबर छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रातिको समयमा समेत जहाज उडान र अवतरण गर्न योग्य भएपछि बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडान गर्ने तयारी गरेको बताइएको छ। बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् ।

गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।

विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताए ।

हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षितसमेत रहेको बताइन्छ । विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन् ।

हाल साँझ ४ बजेसम्म मात्र उडान हुँदै आएको पोखरामा रात्रिकालीन उडान शुरु भएसँगै यात्रुलाई सहज हुने विश्वास छ । यसबाट पर्यटन क्षेत्रलाई समेत लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भए पनि अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन सकेको छैन ।

पोखरा विमानस्थलका प्रमुख गौतमले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकसँग कूटनीतिक पहलका लागि आफूले प्रधानमन्त्रीसँग समेत आग्रह गरेको बताए ।

प्रतिक्रिया