स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले बुधबार महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेपाउनेले जानकारी दिए ।
पुष नौदेखि २७ गतेसम्म काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो । २०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा सिआईबीले उनीहरुलाई पक्राउ गरेको थियो । स्पट फिक्सिङमा संलग्न आरोपमा पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्ता छन् । प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार पाँच जनाविरुद्ध स्पट फिक्सिङको अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो ।
कसको भूमिका के ?
पक्राउ परेकामध्ये मोहमद आदिल आलमले जनकपुर रोयल्सबाट टी–२० लिग खेलेका थिए । उनले १२ पुसमा भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं अोभरको पहिलो बल नो बल र दोस्रो बल वाइड फालेका थिए । त्यसरी उनले जम्मा १३ रन जोडेर आउट भएका थिए ।
१४ पुसमा भएको जनकपुर रोयल्स र फार वेष्ट युनाइटेडबीचको खेलको छैठौं ओभरमा पनि उनले पहिलो बल नो बल र दोस्रो बल बाइड गरेर जम्मा १५ रन जोडेका थिए ।
नो बल र वाइड खेले १ लाख रुपैयाँ दिने भन्दै उनलाई समिर शेख नामक व्यक्तिले ह्वाट्स एपमार्फत प्रस्ताव राखेको अनुसन्धानबाट खुलेको छ । सरकारी वकिलको रोहबरमा दिएको बयानमा पनि उनले प्रस्ताव आएको स्वीकारेका छन् । तर, मिलेमतोमा संलग्नताबारे इन्कारी बयान दिएका छन् ।
प्रहरीले चाहिँ दुवै खेलमा प्रस्ताव गरिएअनुसार गतिविधि हुनु संयोग मात्रै नहुने बताउँदै उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) ले गरेको स्कोर बोर्ड र भिडियो विश्लेषणका क्रममा पनि ओभरको पहिलो बल नो बल र लगत्तै बाइड बलको प्रकृति एकै किमिसको पाइएको प्रहरीको भनाइ छ ।
आफूलाई आएको प्रस्तावबारे पनि समयमा रिपोर्ट नगर्नु र प्रस्ताव अनुसारकै गतिविधि गर्नुले मिलेमतोमा उनको संलग्ता पुष्टि भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
कीर्तिमानी पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमले पोखरा एभेन्जर्स र फार वेष्ट युनाइटेड एक/एकका खेलाडीलाई मिलेमतोका लागि प्रस्ताव गरेका थिए ।
अर्का प्रतिवादी रवि माझीको निर्देशन अनुसार उनले खेलाडीहरुलाई मिलेमतोको प्रस्ताव राखेका थिए । त्यसअनुसार कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको स्वयंको बयान छ ।
त्यसवापत उनलाई पनि प्रति खेलाडी दुई लाख रुपैयाँ दिने भनिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर, दुवै खेलाडीले उनको प्रस्ताव अस्वीकार गरेका थिए ।
प्रतिवादीमध्ये वीरगञ्जका क्रिकेटर नितेश गुप्ताले पोखरा एभेन्जर्सका एक जना खेलाडीलाई मिलेमतोको प्रस्ताव राखेका थिए । तर, हात्तिवनको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर प्रस्ताव गर्दा आफूलाई गाली गरेर पठाइदिएको उनले बताएका छन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा गुप्ताले भनेका छन्, ‘मेरो सानी आमाको देवर वीरेन्द्र शाहले घरमा आएर उहाँसँग भेट गराइदिनु पर्यो, क्रिकेटको विषयमा कुरा गर्नुपर्छ भन्नु भएको थियो, त्यसअनुसार मैले कहाँ भेट्न सकिन्छ भनेर म्यासेज गरेर सोधेको थिएँ ।’
त्यसअनुसार शाहसँग वीरगञ्जबाट काठमाडौं आएर ७ पुसमा ललितपुरमा गएर भेटेको उनले भनेका छन् । त्यसक्रममा शाहले लिगमा ‘हिट विकेट’ गरे राम्रो कमाउन सक्ने भनेको उनले बताएका छन् ।
तर, ती खेलाडीले अस्वीकार गरेपछि आफूले ह्वाट्स एपमा ‘सरी भैया’ भनेर म्यासेज गरेको उनले बताएका छन् । आफूलाई त्यसअघि क्रिकेटबारे के कुरा गर्न लागेको भन्ने पनि थाहा नभएको उनले दाबी गरेका छन् । उनले साहलाई ती खेलाडीसँग आफूले भेट मात्र गराइदिएको दाबी गरेका छन् ।
ब्यूरोका एक अधिकृतका अनुसार काठमाडौं नाइट्स टिमको धनी नेपाल स्पोर्टस् भेन्चर प्रा.लि.को सञ्चालक नविन कँडेल भएपनि टिम सम्बद्ध खेलाडी र पदाधिकारीहरु याक एण्ड यति होटलमा बसेवापत रकम भारतबाट भुक्तानी भएको देखिएको छ । यसलाई अनुसन्धान अधिकृतहरुले शंकास्पद मानेका छन् ।