दाउ हेर्दै ओली–दाहाल, चिसिँदै सम्बन्ध

दाउ हेर्दै ओली–दाहाल, चिसिँदै सम्बन्ध


  • जन संचार
  • आइतबार, २९ माघ २०७९
  • 3.5K
    Shares

सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ ।

गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो ।

नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताए । ढिलो–चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दाबी गर्दै उनले वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी गरे ।

प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्‍याइएको भन्दै बिना योजना सत्ता प्राप्तिकै लागि मात्रै गरिएको गठबन्धनमा अहिले नै खटपट आइसकेको बताएका छन् ।

सत्ता सहयात्राका प्रमुख पात्र ओली र उनकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डबीच राष्ट्रपति निर्वाचनको विषयलाई लिएर चिसोपन बढ्दै गएको गठबन्धनकै नेताहरुले सार्वजनिक गर्न थालेका छन् । शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत राष्ट्रपति निर्वाचनको विषय लिएर प्रचण्ड र ओलीबीचमा ‘भनाभन’ नै भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने बताएपछि एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेको बैठकमा सहभागी एक नेताले बताए ।

‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नुपर्ने बताएलगत्तै ओली ‘यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन’ भनेर कडारूपमा प्रस्तुत हुनुभयो ।’ –उनले भने । सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको ओलीले तर्क गर्नुभएको ती नेताले बताएका छन् ।

कांग्रेस सहितको पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणका साथ प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओली प्रचण्डको पछिल्लो गतिविधिप्रति सन्तुष्ट हुनुहुन्न । सरकार गठन हुँदा गठबन्धन दलहरुबीच भएका राजनीतिक सहमतिलाई कार्यान्वयन नगरेर प्रचण्ड सरकारलाई पनि सजिलो नहुने एमालेका नेताहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेका छन् ।

अध्यक्ष ओलीले राष्ट्रपतिमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग समेत छmलफल गरिसकेका छन् । राष्ट्रपतिमा सहयोग आग्रह गर्दै उनले ठाकुरलाई शुक्रबार संघीय संसद् भवनबाट आफ्नै गाडीमा लगेर बालकोटमा छलफल गर्नुभएको थियो । सत्ता गठबन्धनबाहिर रहेको लोसपाको समेत साथ माग्न थालेपछि प्रचण्डप्रति ओलीको विश्वास घट्दै गएको प्रस्ट भएको छ ।

यदि एमालेलाई सत्ता गठबन्धनबाट राष्ट्रपति स्वीकार गर्ने अवस्था नआए ओलीले ठाकुरलाई नै अघि सार्न सक्ने सम्भावना समेत बढेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया