क्रिकेट संघका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

क्रिकेट संघका कार्यवाहक सचिव मल्लले दिए राजीनामा


  • जन संचार
  • बुधबार, १८ माघ २०७९
  • 4K
    Shares

प्रशान्त विक्रम मल्ल

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

०७६ असोज ११ गते क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए ।

मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।

पोखरा बोर्ड बैठकका निर्णय र पछिल्लो समय क्यानमा देखिएको विवाद सन्दर्भमा जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए । यहीकारण पोखरामा आयोजित क्यानको बैठक मंगलबार ढिला गरी सुरु भएको थियो । बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

क्यान बोर्ड बैठकमा १६ एजेण्डाहरुबारे छलफल हुँदैछ । नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सम्झौता रद्ध गर्दै पठाएको पत्रका बारेमा पनि बैठकमा छलफल हुँदै छ । विवादमा परेको नेपाल टी–२० लिगको सम्झौता खारेज गर्न क्यानमाथि दबाव परे पनि भारतीय कम्पनीले नै सम्झौता रद्ध गरेको छ ।

प्रतिक्रिया