आफ्ना लाखौं दर्शक, श्रोता, शुभ चिन्तक अनि सैयौं कलाकार तथा संगितकर्मीहरुलाई रुवाउदै शुक्रबार दिउसो लोकप्रिय दोहोरी गायक भिम पौडेल पोखराको रामघाटबाट भौतिक रुपमा बिलिन भए।
उनको पार्थिव शरीरलाई हिन्दू धर्म परम्परा अनुसार शुक्रबार दिउसो पोखराको रामघाटमा अन्त्येष्टि गरियो। त्यस अवसरमा राष्ट्रिय दोहोरो प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानको झण्डा ओढाएर सम्मान गरेका थिए। उनलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री सिता सुन्दास पनि पुगेकी थिइन्।
उनलाई अन्तिम पटक बिदाई गर्न रामघाटमा सैयौंको संख्यामा कलाकार, गीतकार, संगीतकार, साहित्यकार, पत्रकार र उनका शुभेच्छुक, आफन्त, दर्शक र श्रोताहरुको त्यहाँ उपस्थिति रहेको थियो।
उनको बिहीबार राती स्याङ्जाको कोल्मा खुदीस्थित आफ्नै घरमा निधन भएको हो । कलाकार एवं ईन्द्रेणीका संचालक कृष्ण कँडेलका अनुसार पौडेल केहीदिनदेखि अस्वस्थ रहेर पोखरामा बस्दै आएका थिए । बिरामी भइरहेकै अवस्थामा उनी घरमै आराम गर्न भनेर स्याङ्जा घरमा गएका थिए । घरमै आराम गरिरहेका बेला बिहिबार राती ११ बजेर २० मिनेटमा पौडेलको निधन भएको कँडेलले बताए ।
२०४१ साल भदौ २ गते स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ९ कोल्मा केवरेपानीमा जन्मिएका स्वर्गीय पौडेलका पांच जना दाजु र चार दिदीबहिनी रहेका छन्। परिवारमा कान्छो छोरा रहेका उनी अबिबाहित रहेका थिए।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले पौडेलको अल्पायुमै निधन भएकोप्रति गहिरो दु:ख प्रकट गर्दै परिवारजन र आफन्तहरुप्रति समवेदना व्यक्त गरेका छन् । यस्तै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि गायक पौडेलको निधनमा दु:ख व्यक्त गरेका छन् ।

