टी-२० मा स्पट फिक्सिङका लागि व्यवस्थापनकै संलग्नता : स्पट फिक्सिङका लागि ६ देखि १० लाखसम्मको एप्रोच

टी-२० मा स्पट फिक्सिङका लागि व्यवस्थापनकै संलग्नता : स्पट फिक्सिङका लागि ६ देखि १० लाखसम्मको एप्रोच


  • जन संचार
  • मंगलबार, १० माघ २०७९
  • 5.7K
    Shares

काठमाडौंमा हालै सम्पन्न नेपाल टी-२० मा स्पट फिक्सिङका लागि फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ भने स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ । जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ । फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ ।

फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ ।

टी-२० मा स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाखसम्मको अफर गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । स्पट फिक्सिङमा चार जना टीम व्यवस्थापकहरूसमेत संलग्न भएको सीआइबीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले फिक्सिङमा जम्मा १० जना संलग्न देखिएको जानकारी दिए । तर, पक्राउ परिसकेका दुईजनाबाहेक बाँकी व्यक्तिहरूको नाम उनले बताएनन् । खेलाडीहरूलाई सामाजिक सञ्जालबाट तथा प्रत्यक्ष भेटेर अप्रोच गरिएको उनले बताए ।

‘एउटा स्पट फिक्सिङमा, कुनै गेमको कुनै एउटा ओभरमा नोबल फ्याकेको वा निश्चित रन लिएको अवस्थामा ६ देखि १० लाख दिनेगरी अप्रोच आएको देखिन्छ,’ उनले भने । स्पट फिक्सिङमा नेपाल क्रिकेट संघको कुनै भूमिका नदेखिएको थापाले उल्लेख गरे ।

प्रतिक्रिया