गृहको निर्देशनमा क्रिकेटका दुइ हस्ती पक्राउ, लाग्यो स्पट फिक्सिंगको आरोप

गृहको निर्देशनमा क्रिकेटका दुइ हस्ती पक्राउ, लाग्यो स्पट फिक्सिंगको आरोप


  • जन संचार
  • सोमबार, ९ माघ २०७९
  • 6.5K
    Shares

स्पट फिक्सिंगको आरोपमा दुई क्रिकेटर पक्राउ

पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ परेको हो ।

पक्राउ परेका आलम एकैखेलमा १० विकेट लिएको कीर्तिमानी, राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए ।

पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया