एउटै किशोरीले अभिनेता पल शाहलाई दुई स्थानमा लगाएको वलात्कार मुद्दामा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरे पनि तनहुँ जिल्ला अदालतले भने सफाई दिएको छ।
नवलपुर जिल्ला अदालतले अभिनेता शाहलाई बाल यौन दुरुपयोग गरेकोमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजायं र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको अवस्थामा तिनै पिडित भनिएकी किशोरीले तनहुँमा उनीविरुद्ध लगाएको वलात्कार आरोपमा भने तनहु जिल्ला अदालतले सफाई दिएको छ।
जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई सफाइ दिएको हाे । जिल्ला अदालतको मंगलबार बसेको इजलाशमा शाहको पक्षबाट तीन वरिष्ठसहित पांच जना कानुन व्यवसायी र जाहेरवाला किशोरीका तर्फबाट एक जना सरकारी वकिलले थुनछेक बहस गरे पछि आरोपित शाहलाई सफाई दिने फैसला गरेको थियो।
अभिनेता शाह तनहुँ जिल्ला अदालतको आदेश बमोजिम जेलमुक्त हुनुपर्ने अवस्था थियो। तर त्यसभन्दा अघि नै नवलपुर जिल्ला अदालतले अभिनेता शाहलाई उनै पिडित भनिएकी किशोरीले लगाएको आरोपमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजायं र १० लाख रुपियाँ क्षतिपुर्ति भराउन फैसला गरिसकेको छ र सोही फैसला बमोजिम अभिनेता शाहले साढे दुई वर्ष पूरा जेल सजायं भोग्नु पर्ने हुन्छ।
तर अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध असहमति जनाउदै उच्च अदालत पोखरामा उजुरी दिएका छन्। पीडित भनिएकी नाबालिकाले बलात्कारको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आरोप झुटा भएको बताएकी थिइन् । ती बालिकाले शाहले तनहुँ र नवलपुरमा गरि दुई ठाउँमा बलात्कार गरेको बताएपछि बेग्लाबेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
नवलपुर जिल्ला अदालतले जबर्जस्ती करणीको अभियोग आएपनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो। शाह करिब एक वर्षयता थुनामा छन् । यदि उच्च अदालत पोखराले अभिनेता शाहको निवेदनलाई स्वीकार गर्दै जेलमुक्त गर्न आदेश दियो भने उनी जेलमुक्त हुनसक्ने छन्। अन्यथा नवलपुर जिल्ला अदालतले गरेको फैसला वमोजिम उनले साढे दुई वर्ष जेल सजायं भुक्तान गर्नु पर्ने हुन्छ। उच्च अदालतको अन्तिम आदेश नभएसम्म अभिनेता शाह तत्काल छुट्ने कि नछुट्ने यसै भन्न नसक्ने कानून व्यवसायीहरु बताउछन।
नवलपुर जिल्ला अदालतको फैसलामा भनिएको छ,
‘युवापुस्तामा राम्रो अभिनयको क्षमता देखाई पर्दाको जीवनमा नायक रही फिल्मी क्षेत्र र गीत संगीतको अभिनयको क्षेत्रमा स्थापित कलाकारले नवबालिकासँग कस्तो व्यवहार गर्नु पर्छ ? नाबालिग उमेरमा एउटा चर्चामा रहेको अभिनेता रहेको व्यक्तिसँग नजिक हुन र उसलाई चाहनु उसको गल्ती होइन । त्यसमा आफू स्टारडम हुँ भन्ने एउटा वयस्क उमेर पुगेको व्यक्ति आफैले पूर्ण रूपमा सोच विचार गरेर पर्दाको दुनियाँमा मात्र नायकीपन होइन आफ्नो वास्तविक दुनियाँमा पनि नायकीपन कायम गर्न सक्नु पर्छ । कानुनले नाबालिग मानेको कुरालाई उसको चञ्चलता र आनीबानीलाई हेरेर वयस्क उमेर हो भनी आफैले अनुमान गरी आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेज लाई वास्तविक जीवनमा गलत रूपले प्रयोग गर्न हुँदैन । यी प्रतिवादीबाट नाबालिग उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवम् संवाद तथा अन्य एसएमएस लगायतका कुराकानीका गतिविधिसमेतलाई हेर्दा एउटी नाबालिग उपर यी प्रतिवादीले अभिभावकीय रूपले आफ्नो जिम्मेवारी र कर्तव्य पुरा नगरी एउटा प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरी नाबालिग उपर व्यवहार गरेको देखिन्छ ।’
त्यसैगरी बाल यौन दुरुपयोग ठहर गर्ने फैसलामा भनिएको छ,
‘… यी प्रतिवादीले पीडित नाबालिग उपर गरेको व्यवहार एवं अडियो क्लिपको संवाद समेतलाई हेर्दा मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(२) मा उल्लेख भएको ‘अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार’ पीडित नाबालिग उपर यी प्रतिवादीले गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (१) विपरीतको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ । अब प्रतिवादीलाई बाल यौन दुरुपयोगको कसुर अपराधमा के कति सजाय हुनुपर्ने हो भन्ने तर्फ विचार गर्दा कसुरको अवस्था र यी प्रतिवादीले आफूले गीत संगीत र फिल्मी क्षेत्रमा रहेर झन संवेदनशील बनेर बाल कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफै आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई सोही संहिताको दफा २२५ (३) बमोजिम २ (दुई) वर्ष ६ (छ) महिना कैद सजाय र पच्चीस हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’
यसरी नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारजस्तो गम्भीर कसुरमा सफाइ दिए पनि नाबालिगमाथि बाल यौन दुरुपयोग गरेको ठहर गर्दै साँढे २ वर्ष कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।
नवलपुर जिल्ला अदालतको फैसलालाई हेर्दा शाह पक्राउ परेको मिति २०६८ फागुन १५ गतेबाट साँढे २ वर्ष अर्थात् २०८१ भदौ १४ गतेसम्म जेलमै रहनुपर्ने हुन्छ । तनहुँ जिल्ला अदालतबाट अभियोग दाबीमा पूर्ण सफाइ पाए पनि नवलपुर जिल्ला अदालतबाट भएको सजायको कारण उनी अझै १९ महिना जेलमै बस्नुपर्ने हुन्छ ।
नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेको भए पनि उच्च अदालतबाट फैसला भइसकेको छैन । यता तनहुँ जिल्ला अदालतले माघ ३ गते फैसला सुनाई अभियोग दाबी नपुग्ने ठहर गरे पनि फैसलाको पूर्ण पाठ आउन भने समय लाग्नेछ ।