अमेरिकी क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै बीवाईएससी फ़ाइनलमा पुगेको हो।
खेलको पहिलो हाफको अतिरिक्त समय ४६ औं मिनेटमा बीवाईएससीका रोजिन प्रजापतिले गरेको गोल नै आजको खेलको निर्णायक बनेको थियो। प्रविन बस्नेतको पासमा प्रजापतिले हेडमार्फत गोल गरेका थिए ।
८३ औं मिनेटमा चर्च ब्वाइजका खेलाडी आशिष चौधरीले रातो कार्ड पाएर मैदान छाडेपछि चर्च ब्वाइज क्लब १० खेलाडीमा सीमित भएको थियो । चौधरीले बल खोस्ने क्रममा बीवाईएससीका डाइलो इराकागलाई लडाएपछि रातो कार्ड पाएका हुन् ।
उपाधिका लागि अब अमेरिकी क्लब बीवार्ईएससीले संकटासँग २३ पुसमा प्रतिस्पर्धा गर्नेछ ।
अघिल्लो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको बीवाईएससी ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो पटक आहारारामा सहभागी भएको चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो ।