सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा थन्किएका ४७ लाख डोजभन्दा बढी खोप खेर जाने अवस्थामा छ। तर सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गएको भन्दै कोभ्याक्स सुविधामार्फत दोस्रो बुस्टर मात्राको खोप ल्याउन प्रक्रिया अघि बढाएको छ।
सरकारका कोल्डस्टोरमा खेर जाने अवस्थामा साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको समाचार स्रोतको दाबी छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।
४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज खोप ल्याउने तयारी गरेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी फाइजर खोप ल्याउन लागिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइनेछ ।
दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप जनवरी अन्तिमसम्ममा नेपाल आइपुग्ने दाहालले बताए । सो खोप ल्याउन औषधि व्यवस्था विभागले बुधबार मात्रै अनुमति दिएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि फाइजर खोपको बुस्टर डोजलाई अनुमति दिइएको हो ।
यसअघि सो खोप १२ वर्षमुनिका बालबालिकालाई पहिलो र दोस्रो डोजका रूपमा लगाइएको थियो । तर, अहिले भने एडल्ट फाइजर खोपलाई बुस्टरका रूपमा मात्रै प्रयोग गरिनेछ । यसअघि भने सरकारले १८ वर्षमाथिका नागरिकलाई एस्ट्राजेनेका, कोभिसिल्ड खोप बुस्टर डोजका रूपमा दिइएको थियो । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय भने गत २० कात्तिकमा नै गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डसँगै बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ । तर, सरकारको आग्रहअनुसार तत्काल बुस्टर डोज दिन सरकारसँग खोप भने छैन । सरकारी तथ्यांकअनुसार अझै १ करोड ३० लाख जनसंख्या बुस्टर डोज लगाउन बाँकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १२ वर्ष र सोभन्दा माथिका २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले दुई डोज र २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले पहिलो डोज खोप लगाएका छन् ।
तर, बुस्टर डोज खोप लगाउनेको संख्या भने ७९ लाख ७२ हजार ७ सय ९१ मात्रै छ । दोस्रो बुस्टर डोज ६ वटा समूह छुट्याएर दिइनेछ । जसअनुसार ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मी प्राथमिकतामा छन् । राजधानी दैनिकबाट साभार