मोफसलको चर्चित आहारारा पोखरा गोल्डकपको आयोजक साहारा क्लब २२ औं आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलबाटै बाहिरिएको छ। आज भएको उद्घाटन खेलमा धरान फुटबल क्लबले १–० ले पराजित गरेपछि आयोजक साहारा क्लब २२ औं आहारारा पोखरा गोल्डकपबाट बाहिरिएको हो।
खेल शुरु भएको चौंथो मिनेटमा नै धरान फुटबल क्लबका प्रकाश बुढाथोकीले गरेको गोल नै यस प्रतियोगिताको उद्घाटन खेलको निर्णायक गोल बन्यो। खेलको चौंथो मिनेटमै धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरको सुन्दर सदुपयोग गर्दै गोल गरेका बुढाथोकीले गोल गरे । आजको खेलमा बुढाथोकी नै ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् ।
यसभन्दा अघि तीन पटक आमनेसामने भएका सहारा र धरान फुटबल क्लबमध्ये यसअघिका दुई खेलमा धरान आयोजक सहारासँग पराजित भएको थियो ।
२०६८ मा आयोजित दशौं आहारारा गोल्डकपमा अन्तिम पटक प्रतिस्पर्धा हुँदा सहाराले १–० ले धरानलाई पराजित गरेको थियो । त्यसको अघिल्लो नवौं संस्करणको पहिलो खेलमा पनि आयोजक सहाराले धरानलाई २–१ ले पराजित गरेको थियो ।
२२ औं संस्करणको आहारारा गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ ।