पर्सा, वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोला बस्ने १४ वर्ष वर्षीय निरजकुमार पासवानको हत्या आरोपमा प्रहरीले उनकै विद्यालयका सहायक प्रिन्सिपल सहित दुइजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा वीरगन्ज-१७ अलौ बस्ने २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबिनी गाउँपालिका-१ घोडदौडपिप्रा बस्ने ३० वर्षीय दिलिपकुमार पटेल छन्।
निरज गुरूकुल पन्ना मेमोरिइल ई बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। दिलिपकुमार पटेल सोही स्कुलका सहायक प्रिन्सिपल समेत हुन्।
मंसिर ५ गते दिउँसो २ बजे देखि हराइरहेका निरजलाई खोजिदिन उनका बुवा श्रीराम हजरा दुसादले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका थिए।
हराएको १२ दिनपछि बुवा श्रीराम हजारालाई अपरिचित नम्बरबाट फोन आएको थियो। फोनमार्फत् ५० लाख फिरौती माग गरिएको डिएसपी गिरीले बताए।
डिएसपी गिरीका अनुसार यो घटना गराउने योजना श्यामकुमारको हो। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप समेत छ।
उनले दिलिपकुमारबाट केही समय अगाडि पैसा लिएका थिए। तर उक्त रकम तिर्न सकिरहेका थिएनन्। तिर्न नसकेपछि कसैको अपहरण गरी फिरौती माग्न सकिने योजना बनाएका थिए।
‘श्यामप्रसादले दिलिपको पैसा चलाएको रहेछ। तर त्यो पैसा फस्यो फिर्ता पनि गर्न सकेनन्। फेरि दिलिपले मागेको माग्यै गरेका रहेछन्। त्यसपछि बरू सँगै मिलेर पैसा आउने काम गरौं न भनेर श्यामप्रसादले सल्लाह गरे। केटालाई बन्धक बनाएर फिरौती लिने आएपछि शिक्षकले आफ्नै विद्यार्थीलाई बन्धक बनाउने योजना बनाए,’ उनले भने।
उनीहरूले निरजकुमारलाई निशाना बनाएका थिए। त्यसदिन दिलिपकुमारले निरजकुमारलाई फोन गरी आफ्नो कोठा नजिकै बोलाए।
उनीहरूले त्यसरी बोलाएपछि कोठामा लगे।
त्यहाँ पेटीले उनको हात, खुट्टा, मुख बाँधेर राखे। उनीहरूले बन्धक बनाएर परिवारसँग फिरौती माग्ने योजना बनाइरहेका थिए।तर निरजकुमारले बल प्रयोग गरिरहे। उनले फुत्किने प्रयास गरेको डिएसपी गिरीले बताए। उनीहरूले निरजकुमारलाई अन्त लैजान पनि सकेनन्।
त्यसो हुँदा निरजकुमार भागेर जाँदा आफूहरूको पहिचान समेत खुल्ने उनीहरूमा डर थियो।
‘विद्यालयकै सहायक प्रिन्सिपल समेत रहेका दिलिपलाई पनि डर भयो। भागेर गयो भने बेइज्जत हुने भनेपछि उनीहरूले हत्या गरे,’ उनले भने।
उनीहरूले निरजकुमारलाई अपहरण गरेकै दिन घाँटी थिचेर हत्या गरे। हत्या गरेर उनीहरूले शवलाई स्कुलकै सेप्टिक ट्यांकीमा समेत राखिसकेका थिए।
तर यसबारे लामो समयसम्म पनि हल्ला भएन। निरजकुमारको शव लामो समयसम्म फेला नपरेपछि श्यामकुमार लगायतले फिरौती पनि माग्नुपर्नेबारे सल्लाह गरे।
‘उनीहरूले हत्या गरेर व्यवस्थापन गरिसकेका थिए। तर कसैले सोधीखोजी पनि गरेनन्। सुरूमा त बन्धन बनाउने बेलामै फुत्किन खोजेपछि हत्या गरिहाले,’ डिएसपी गिरीले भने, ‘तर पछि हल्ला नभएपछि फिरौती माग्न सकिन्छ, पैसा दिई पो हाल्छ कि भन्ने हिसाबले उनीहरूले मागेका हुन्।’
उनीहरूले फिरौती माग्न अर्कै व्यक्तिको सिम प्रयोग गरी फोन गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले घटनामा संलग्न अर्का व्यक्तिको पनि पहिचान खुलाइसकेको छ। अहिले पक्राउ परेका दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।