नेकपा माओवादी केन्द्रका नेता झलकपाणि तिवारीले गण्डकी साहित्य संगमको अक्षयकोष स्थापना गर्न एक लाख रुपियाँ दान घोषणा गरेका छन् । संगमको १५ औं साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमा नेता तिवारीले संगमको अक्षयकोष स्थापना गर्न एक लाख रुपियाँ दान घोषणा गरेका हुन् ।
त्यस अवसरमा नेता तिवारीले आफु साहित्यिक व्यक्ति नभए पनि साहित्य क्षेत्रबाट टाढा नरहेको भन्दै अक्षयकोष स्थापनाका लागि एक लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
संगमको उक्त अधिवेशनले भीम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत तरीकाले चयन गरेको छ। त्यस कार्य समितिको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन् । ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारणसभामा संगमका सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गरेको छ ।
वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति गठनका लागि सर्वसम्मत रूपमा पहल गरेको थियो ।
संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढककाल, वाम बुद्धिजीवीहरू झलकपाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्जेल, कृष्ण के.सी., यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । रानाभाटले सबैलाई समेटेर प्रतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयिककर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने जनाएका छन् ।