मुलुककै पुरानो मानिएको बिर अस्पतालमा कार्यरत एक जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मी लामो समयदेखि बेपत्ता भए पछि त्यस अस्पतालले बेपता स्वास्थ्यकर्मीको खोजी कार्य शुरु गरेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालले लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा उपस्थित नभए पछि एक डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीको खोजी कार्य शुरु गरेको हो। बेपत्ता स्वास्थ्यकर्मी खोजी गर्ने क्रममा अस्पताल प्रशासनले उनीहरुलाई एउटा सुचना जारी गरेर ३० दिनभित्र कार्यालयमा हाजिर हुन् भनेको छ। अन्यथा जागीरबाट बर्खास्त गर्ने पनि अस्पतालले जारी गरेको सुचनामा चेतावनी दिइएको छ।
अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार÷ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।
तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
यस्तै युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । त्यसैगरी, सूचना जारी भएका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी छन् । सूचनामा तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।