काम छाडेर ठेकेदार सम्पर्कबिहीन भए पछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ ।
भवन निर्माणको ठेक्का पाएको बिएम आइएस एसी जेभी बुर्तिबाङ बागलुङ गत बर्षको हिउँददेखि अहिलेसम्म पनि काममा नर्फकिएपछि अस्पताल निर्माणको काम योजना अलपत्र परेको हो ।
उक्त कम्पनीले पांच सैय्याको अस्पताल निर्माण गर्न चार करोड ८८ लाख ७२ हजार एकसय ३२ मा ठेक्का सम्झौता गरेको थियो। निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म अस्पताल भवनको जम्मा २० प्रतिशत भौतिक प्रगति भएको छ । ठेकेदार कम्पनीले अहिलेसम्म जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलानको डिपिसीको काम मात्रै सकेको छ ।

उक्त दुई तले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष लगायतका संरचना रहने प्रस्ताब गरिएको छ । कम्पनीले गाउँपालिकाबाट रु ९२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी लगिसकेको छ ।
भवन निर्माण गर्ने समय गुजारेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावली अनुसार एक बर्षका लागि म्याद थप भएपनि अहिलेसम्म कम्पनी कार्यक्षेत्रमा नफर्किएको गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्र रावलले जानकारी दिए ।