नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर सोमबार बिहान स्वदेश फर्किएका छन् । नेपाल क्रिकेट संघ-क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, क्रिकेट म्यानेजर विनोद दासलगायतसँग आइतबार मात्र छलफल गरेका प्रभाकर सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रभाकरले आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको र मनलाग्दी निर्णय गर्ने गरेकाले उनको पर्फमेन्स सन्तोषजनक नरहेको बताए । ‘उहाँले राजीनामा दिएको भन्ने थाहा छैन । तर एक साता घर जान्छु भन्नु भएको थियो । हिजो मात्र प्रशान्तजीहरुसँग उहाँको कुराकानी भएको थियो । सायद उहाँ दिल्ली पुगेपछि केही निर्णयहरु आउला’, क्यान अध्यक्ष चन्दले भने ।
तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत अगष्टमा विवादास्पद छविका प्रभाकरलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो । तर टोलीलो कमजोर प्रदर्शन गरेपछि उनी दबाबमा परेका थिए । स्रोतका अनुसार प्रभाकर अब नेपालको जिम्मेवारीमा फर्कने सम्भावना कम छ ।