भूकम्प प्रभावित क्षेत्रमा घर बनेनन्, चर्च तयार

भूकम्प प्रभावित क्षेत्रमा घर बनेनन्, चर्च तयार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ बैशाख २०७३
  • 11.6K
    Shares

भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधरणले अझै स्थायी अवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताका टहरामा बस्ने क्रिस्चियन धर्मावलम्बी भूकम्पपीडित नवर्मित सुविधा सम्पन्न् भवनमा रहेको चर्चमा आफनो धार्मिक क्रियाकलाप सञ्चालन गर्दछन् । आजकोअन्नपूर्ण पोस्टमा समाचार छ । पूर्ण रूपमा ध्वस्त चर्चको पुनर्निर्माण गरिएको छ भने सामान्य क्षति पुगेका चर्च मर्मत गरेर साप्ताहिक प्रार्थना र अन्य नियमित कार्यक्रम सञ्चालन भइरहेका छन्। church_sindhupalchok

भूकम्पका कारण लामोसाँगुको चर्चको पक्की भवन भत्किएपछि करिब २० लाख रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण गरिएको छ । वैशाख १२ को भूकम्पले चर्च रहेको भवन भत्कँदा लामोसाँगुमा प्रार्थना गरिरहेका १६ जनाको मृत्यु भएको थियो।
भत्केको भवनछेउमै ट्रस्ट राखेर भवन निर्माण गरिएको जानकारी पास्टर रमेश श्रेष्ठले दिए। भवन निर्माणका लागि विश्वासीबाट चन्दा संकलन गरिएको श्रेष्ठले बताए । उनका अनुसार चर्च निर्माणका लागि संस्थागत र ठूलो रकम सहयोग कतैबाट आएको छैन।
‘विश्वासी र अन्य चर्चबाट चन्दा उठाएर भवन निर्माण गरेका हौं’, श्रेष्ठले भने, ‘चर्च निर्माण गर्न भनेर कुनै निकायबाट अनुदान आएको छैन।’ मेलम्ची चर्चका पास्टर पूर्ण रम्तेल सामान्य क्षति पुगेको भवन आफ्नै स्रोतबाट चन्दा संकलन गरेर मर्मत गरेको बताउँछन्। दैनिक धार्मिक क्रियाकलाप गर्न समस्या हुने भएपछि अनुयायीबाटै आर्थिक सहायता उठाएर मर्मत गरेको रम्तेलले बताए।
चर्च निर्माण भए पनि आर्थिक स्रोतका विषयमा क्रिस्चियनहरू खुलेर बताउन चाहँदैनन् । अधिकांश चर्चका पास्टर र अनुयायी आफूआफूमा चन्दा उठाएर चर्च निर्माण गरेको बताउँछन्। स्रोतका विषयमा सार्वजनिक गर्न नमिल्ने चौताराका एक क्रिस्चियन धर्मावलम्बीले बताए । भूकम्पपछि जग्गा भाडामा लिएर निर्माण गरिएको चर्च कसरी बन्यो भन्ने सामान्य अनुयायीलाई समेत थाहा छैन।
एक क्रिस्चियन धर्मावलम्बीका अनुसार चर्च निर्माण गर्न अनुदान आउने गरेको छ । ‘माथिबाट आएको पैसाले नै चर्चहरू बनेका हुन्’, नाम उल्लेख गर्न नचाहने उनले भने, ‘चर्चमा आउने केहीले चन्दा दिन सके पनि सबैले नसक्ने भएकाले चन्दा उठाई लाखौं खर्च गरेर चर्च निर्माण गर्न सम्भव छैन।’
माथि भनेको के र कहाँ भन्ने उनले खुलाउन चाहेनन् । स्रोतका अनुसार क्रिस्चियन धर्म प्रचारप्रसार र प्रवद्र्धन गर्ने संस्थाहरूले चर्च निर्माणका लागि अनुदान दिने गरेका छन्। प्रायः चर्चहरू कतैबाट आएको आर्थिक सहायताले नै बनेको एक क्रिस्चियनले बताए । सहायता कहाँबाट र कसरी आउँछ भन्ने पास्टर र केही चल्तापुर्जालाई मात्र थाहा हुने भएकाले आर्थिक स्रोत प्रायः सार्वजनिक हुँदैनन्।
 जिल्लाका विभिन्न ठाउँमा गरी ६० भन्दा बढी चर्च छन् । प्रायः चर्चमा एकदेखि डेढ सयसम्म धर्मावलम्बी आबद्ध रहने अनुयायीहरू बताउँछन्। यो आधारमा जिल्लामा १० हजारभन्दा बढी क्रिस्चियन धर्मावलम्बी रहेको अनुमान गर्न सकिन्छ। भूकम्पपछि केही चर्चमा क्रिस्चियनको संख्या बढेको छ। पछिल्लो समय क्रिस्चियन धर्म अवलम्बन गर्नेमा दलित, पिछडिएका र निम्न वर्गीयको बाहुल्य छ।

प्रतिक्रिया