अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आयोजना फेवा नववर्ष सकिए लगत्तै पोखरामा साइकल दौड प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिकाको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको हो ।
आइतबार एक समारोहका बीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले घोषणा गर्नु भएको कार्यक्रम अनुसार, पौष ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता, पौष ७ गते बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली र पौष ९ गते पोखराका मुख्य क्षेत्रमा वृहद साइकल र्याली गरिनेछ । पोखराको रानीवनमा हुने दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगितामा महिला र पुरुष गरी दुई इभेन्ट हुनेछन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने प्रतियोगीले क्रमशः३०, २० र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पौष ९ गते १ हजार ५ साइकल यात्रीको साथमा पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजार, महेन्द्र पुल, पालिखेचोक, तेर्सापट्टि, नाला मुख, विन्ध्यवासिनी, बागबजार, टुँडिखेल, हरि चोक, मिरुवा, जिरो किलोमिटर, सभागृह, बिपिचोक, महेन्द्र पुल, रानी पौवा, शीतलादेवी, भद्रकाली क्याम्पस, कुडहर, ३२ केभी, अमरसिंह, कालिका चोक, राम बजार, बुद्ध चोक, पृथ्वी चोक हुँदै प्रदर्शनी केन्द्र नयाँ बजार सम्म वृहद साइकल र्याली गरिनेछ । साइकल र्यालीसँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सहकार्यमा रक्तदान पनि हुनेछ
आइतबार साइकल सिटी पोखरालाई पोखरा प्रतियोगिताको झन्डा हस्तान्तरण गर्दै साइकल दौड प्रतियोगिताको मिति समेत घोषणा गरेका थिए । कार्यक्रम सम्पन्न गर्न रु.२५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाले नगद रु.५ लाख आर्थिक सहायता प्रदान गर्ने भएको छ।
सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई नयाँ वर्षको अवसरमा पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा आफूहरू जुटेको बताउनुभयो । पर्यटकीय राजधानीको रूपमा परिचित पोखरालाई औपचारिक रूपमै घोषणा गर्ने तयारीमा हामी लागेका छौँ, उहाँले भन्नुभयो, पोखरा पर्यटनको राजधानी हो’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश एकमत छौँ । नयाँ वर्षको अवसरमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने हाम्रो तयारी छ ।’
प्रमुख आचार्यले पर्यटकीय राजधानी घोषणा गरेर मात्र नहुने भएकाले पोखराका सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा समेत जोड दिनुभयो । वातावरण स्वच्छतासँगै पोखराको पर्यटन गतिविधिलाई बढाउन समेत टुर दि पोखरा कार्यक्रमको महत्त्वपूर्ण योगदान रहने उहाँले बताउनुभयो ।