उम्मेदवारी घोषणा भएसंगै असन्तुष्टि जनाएर नेकपा माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र भएको भन्दै सार्वजनिक भएका केही नेताहरु फेरी पार्टीकै काममा फर्किएका छन्। पार्टी अध्यक्ष प्रचण्डलाई गोरखामा पुगेर फर्किए पछि उनीहरु फेरी पार्टीकै काममा फर्किएका हुन्।
पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका मध्ये एक एकराम पौडेलले आइतबार राती फेसबुकमा एउटा फोटो सार्वजनिक गरेका छन्। “अध्यक्ष कमरेड प्रचण्ड सङको महत्त्वपूर्ण भेटघाट । ने. क. पा माओवादी जिन्दाबाद ..” भन्दै सार्वजनिक गरिएको उक्त फोटोमा यस अघि पार्टीबाट अलग भएको भन्दै आफूलाई स्वतन्त्र भएको सार्वजनिक घोषणा गर्ने मध्येका जिल्ला नेताहरू मोहन दवाडी,माधवशरण पौडेल,टिकाराम पौडेल, निरेश पौडेल लगायत छन्। त्यस फोटोमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एबम कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ पनि देखिएका छन्।
अध्यक्ष प्रचण्डलाई भेटेपछि उनीहरुले पुन: पार्टीमा फर्किएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको माओवादी केन्द्रका एक नेताले बताएका छन्। उनीहरु फेरी पार्टीको काममा फर्किए पछि कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका पार्टी केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका वर्तमान आर्थिक मामिला मन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई केही राहत मिलेको बताइएको छ। तर समाचारस्रोत भन्छ,”माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’लाई हराउन पार्टीभित्रकै अर्को समुहमा सक्रिय तर उम्मेदवार बराल निकट भएर सक्रिय रहेका नेताहरुको क्रियाशीलता देखिएको छ। ” यति बेला बराललाई कुनै पनि हालतमा चुनाब जित्न नदिने रणनीतिमा त्यस समुह रहेको समाचारस्रोतको दाबी छ।
कास्कीमा पार्टी केन्द्रले उम्मेदवारी घोषणा गरे संगै असन्तुष्टि जनाएर ३९ जना पार्टीका नेता तथा कार्यकर्ताहरुले एक सामूहिक प्रेस बिज्ञप्ति निकालेर पार्टी परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेका थिए।