‘अफ्रिकन स्वाइन फिभर’बाट स्याङ्जामा तीन सयभन्दा बढी बङ्गुर मरे

‘अफ्रिकन स्वाइन फिभर’बाट स्याङ्जामा तीन सयभन्दा बढी बङ्गुर मरे


  • जन संचार
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 3.9K
    Shares

स्याङ्जाको पुतलीबजारका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ देखा परेको छ। पुतलीबजार नगरपालिका–१४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुर बिरामी हुन थालेपछि नमूना सङ्कलन गरेर पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ती बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ देखा परेको हो ।

भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले दिएको जानकारी अनुसार, स्याङ्जाको पुतलीबजार–१४ सहित अन्य दुई ठाउँमा देखिएको संक्रमणबाट हालसम्म तीन सयभन्दा बढी बङ्गुर तथा पाठापाठी मरिसकेका छन्।

बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए।

“बङ्गुरमा रोग लागेपछि दशैंअघि पनि एक पटक परीक्षणका लागि प्रयोगशालामा नमूना पठाएका थियौं, त्यति वेला ‘रिपोर्ट नेगेटिभ’ आयो,” प्रुमख गिरीले भने, “तिहारअघि पठाएको नमूनाको रिपोर्ट ‘पोजेटिभ’ आएको छ।”

पुतलीबजारका विभिन्न स्थानमा किसानले पालेका बङ्गुरमा एक महीनादेखि संक्रमण फैलिएको हो। संक्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बङ्गुरलाई खाडल खनेर गाड्ने लगायतका कार्य गर्न सुझाएको उनले बताए। संक्रमण फैलिएका ठाउँमा कार्यालयबाट चुना र ‘भिरकोन’ उपलब्ध गराइएको र व्यवसायीलाई प्राविधिक ज्ञान तथा परामर्श दिइएको उनको भनाइ छ। यो सरुवा रोग भएकाले संक्रमित बङ्गुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव छ।

प्रतिक्रिया