स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं आएका छन् ।
श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका केसीलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।
जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।