कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. साह प्रतिष्ठानकै कर्मचारीबाट कुटिए, स्वास्थ्यकर्मी र डाक्टर आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. साह प्रतिष्ठानकै कर्मचारीबाट कुटिए, स्वास्थ्यकर्मी र डाक्टर आन्दोलित


  • जन संचार
  • शुक्रबार, ३ भाद्र २०७९
  • 2.4K
    Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डा. करण साह प्रतिष्ठानकै कर्मचारीबाट कुटिएका छन् । अस्पतालको आकस्मिक विभागका कार्यरत डा.साहलाई प्रतिष्ठान प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले नै कुटेका हुन् । शाहीको कुटाईबाट डा. साहको टाउको र पेटमा चोट लागेको जनाइएको छ ।

बिहीबार बिहान ९ बजे प्रतिष्ठान प्रशासनतर्फका चौथो तहका कर्मचारीसमेत रहेका शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेका थिए । तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेतिर टाका काटिदिने प्रतिक्रिया दिए । शाहीको छोराको टाका काट्ने विषयमै उनीहरुबीच विवाद सिर्जना हुँदा शाहीले हातपात गरेको नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिए ।

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनले थपे,‘सीसीटीभी फुटेजमा स्पष्टरुपमा चिकित्सकमाथि हातपात भएको देखिन्छ ।’ पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज नै प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । उजुरीउपर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

नेपाल चिकित्सक संघ जुम्लाले घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । संघका उपाध्यक्ष थानीले जुनसुकै कारण भए पनि आक्रमण गर्न नपाइने भन्दै घटनाको विरोध गरेको जनाए । प्रहरीले प्रतिष्ठानका कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैबीच अस्पतालका डाक्टर कुटिएको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। चिकित्सकले काम गर्न सक्दैनौं, इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले चिकित्सक कुट्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले अस्पताल प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय जुम्लामा चिकित्सक कुटिएको बारे जानकारी गराइसकेका छन् ।

भदौ ३ र ४ गते कालोपट्टी बाँधेर काम गर्ने, भदौ ४ गते आइसीयु, इमरजेन्सी र एनआइसीयु बाहेकको सबै सेवा बन्द गर्ने, भदौ ५ गते दोषीलाई कारबाही नहुँदासम्म कलम बन्द गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया