मोरङ जिल्ला कारागारमा कोरोना संक्रमणको प्रकोप : कैदी बन्दीमा त्रास

मोरङ जिल्ला कारागारमा कोरोना संक्रमणको प्रकोप : कैदी बन्दीमा त्रास


  • जन संचार
  • शुक्रबार, ३१ असार २०७९
  • 3.2K
    Shares

जिल्ला कारागार मोरङका कैदीमा कोरोना संक्रमणको प्रकोप

उच्च ज्वरोकाकारण एक जना कैदीको मृत्यु भएको मोरङ जिल्ला कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ।

अत्यधिक ज्वरो आएर उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएका १८ जना कैदीमध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भए पछि मोरङ जिल्ला कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले ‘मोरङ जिल्ला कारागारबाट उच्च ज्वरोकाकारण उपचारका लागि कोशी अस्पताल ल्याइएका १८ जना कैदीको शुक्रबार बिहान एन्टिजेन परिक्षण गरिएकोमा १६ जनाको एन्टिजेन पोजिटिभ आएको” जानकारी दिए। एन्टिजेन परिक्षण गरिएका सबै बिरामीको थप पुष्टिका लागि पीसीआर परीक्षणको तयारी भइरहेको जानकारी दिदै मेसु डा. खरेलले’सबै बिरामीलाई थप उपचारका लागि तत्काल कोसी कोभिड अस्पताल रेफर गरिने” बताए।

डा. खरेलका अनुसार कारागारमा लगभग एक साताअघिदेखि ज्वरो सुरु भएको थियो।
अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। उनीहरुमा १०२ डिग्रीभन्दा धेरै ज्वरो छ भने स्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण देखिएका थिए।

उच्च ज्वारोकाकारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि बिहीबार भर्ना गरिएका मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का निवासी ३९ वर्षीय नीरबहादुर नेपालको उपचारकै क्रममा मृत्यु भएको मोरङ जिल्ला कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। तर मृतकको भने कोरोना परीक्षण भएन। शव परिवारका सदस्यले बुझेर लगिसकेका छन्। ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि उनले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए।

महिला र पुरुष गरेर तीनसय जना क्षमताको मोरङ जिल्ला कारागारमा अहिले एक हजार ८७ जना कैदी बन्दी राखिएको छ। अत्याधिक बन्दीका कारण बस्ने ठाउँको अभाव रहेको कारागारभित्र कोरोना फैलिएको पुष्टि भएपछि कैदी बन्दीमा त्रास फैलिएको छ।

यसैबीच कोशी अस्पतालका मेसु डा. खरेलसहितको एउटा टोलीले बिहीबार साँझ कारागार पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्वरो आएका कैदी बन्दीलाई तत्काल उपचारका लागि अस्पताल पठाउन कारागार प्रशासनलाई निर्देशन दिइसकेका छन्।

प्रजिअ दाहाल, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारीले शुक्रबार बिहान अस्पताल पुगेर उपचाररत कैदी बन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।

कोरोना फैलिएको कारागारको निरीक्षण एवं अनुगमन गरेर त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिइएको दाहालले बताए।

प्रतिक्रिया