यातायात व्यवस्था कार्यालय बागलुङबाट लिइने सवारी चालक अनुमति पत्र (लाइसेन्स) परिक्षाका क्रममा आबश्यक पर्ने निरोगिताको प्रमाणपत्र बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बागलुङ नगरपालिका वडा नं.२ स्थित शंकर पोलिक्लिनिकमा अवैध तरीकाले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गर्ने कार्यमा संलग्न धादिङको धादिङबेशी नगरपालिका वडा नं. ०५ बस्ने बर्ष २७ का राम अर्याल र नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २१ का गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्राप्त जानकारी अनुसार, यातायात व्यवस्था कार्यालय बागलुङले स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि बागलुङ नगरपालिका वडा नं.२ स्थित शंकर पोलिक्लिनिकलाई टक्का दिएको थियो। तर सक्कली डाक्टरको अनुपस्थितिमा स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नै नभएको व्यवस्थापन सङ्काय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरीको दाबी छ।
प्रहरीले उक्त पोलिक्लिनिकको तलासी लिँदा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याड समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुन्गले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले बागलुङ्ग जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ।