पर्वत जिल्लाका जनताले पिउने पानीको मूलमा नै हैजाका किटाणु देखिएका छन्। जिल्ल स्वास्थ्य कार्यालयको टोलीले गरेको एक अध्ययनमा जिल्ला बासी जनताले पिउने पानीको मुहानमै हैजाका किटाणुहरु देखिएका हुन्।
पर्वत जिल्लाका सात वटै स्थानीय तहमा वितरण हुँदै आएका खानेपानी आयोजनाको मुहानको पानीमा परीक्षण गरिएकोमा ती नमुना पानीमा अधिकांशमा दिसामा पाइने हैजाका किटाणु ‘कोलिफर्म ब्याक्टेरिया’ भेटिएको ल्याब टेक्निसियन मुना सापकोटाले जानाकारी दिए।
केही समयअघि कुश्मा–७ खरेहा र फलेवास–४ मुडिकुवामा एकैदिन २५–३० जनामा झाडापखाला लागेपछि स्वास्थ्यकर्मीले पानीको गुणस्तर परिक्षण गरेका हुन् । पानीमा कोलिफर्म फेला परेपछि जिल्लाभर खानेपानी शुद्धीकरणमा स्थानीय तहलाई गम्भीर कदम चाल्न स्वास्थ्य कार्यालयले सुझाव दिएको छ ।
कुश्मा नगरपालिकाभित्रका ३१ स्थानका पानीको स्रोतमा गरिएको परीक्षणमा ८० प्रतिशत स्रोतमा कोलिफर्म फेला परेको हो । फलेवास नगरपालिकाका १४ वटा स्रोतमा परीक्षण गरिएकामा ७८ प्रतिशत स्रोत, मोदी गाउँपालिकाका १५ स्थानमा परीक्षण गर्दा ६६ प्रतिशत स्रोतमा कोलिफर्म फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा ६१ प्रतिशतमा, पैयुँ गाउँपालिकाका १४ मुहानमध्ये ५७ प्रतिशतमा र बिहादी गाउँपालिकाका १२ मुहानमध्ये ७५ प्रतिशत मुहानको पानी दूषित पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए । कोलिफर्मयुक्त पानी पिउँदा झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको संक्रमण हुने खतरा बढेको उनले बताए ।
जिल्लाका अधिकांश स्थानमा मूलकै पानीलाई खानेपानीको रूपमा वितरण गरिँदै आइएको छ । परीक्षणका क्रममा मूलकै पानीमा यस्तो जीवाणु भेटिएको कार्यालयले जनाएको छ । उक्त नतिजाले जिल्लावासीले दूषित पानी खाइरहेको, यसले मानवस्वास्थ्यमा गम्भीर असर परिरहेको र यसबाट हैजालगायत रोग फैलिई महामारीकै ज्ञप लिन सक्ने भन्दै जनस्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
वर्षाका कारण जमिनको बाहिरी सतहबाट बगेर आएको पानीबाट मूलहरू धमिलिन्छ । वर्षायाममा पानीसँगै एक ठाउँको फोहोर बगेर अर्को ठाउँमा जाने हुनाले पनि पानीका स्रोत दूषित बन्ने उनको भनाइ छ । ‘काठमाडौंमा फैलिएको हैजा पनि यसकै उपज हो,’ डा. मानव तिवारी भन्छन्, ‘कोलिफर्मयुक्त पानी शुद्धीकरण नगरी पिउँदा झाडापखाला र हैजा लाग्छ ।’