कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । काठमाडौं उपत्यकाभित्र नौ जनामा हैजा देखिनुलाई काठमाण्डौमा हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेतको रुपमा हेरिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटन क्षेत्रमा बस्ने नौ जनामा हैजा देखिएको छ ।
ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।
जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् ।
के हो हैजा ?
हैजा पानीजन्य सरुवा रोग हो । दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा पनि सर्छ। हैजा गम्भीर खालको झाडापखाला हो। यदि यसको उपचार समयमा भएएन भने संक्रमित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ ।
हैजा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुने चिकित्सकहरु बताउछन् ।