मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सवारी सञ्चालन गरिएको छ।
सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ। बस तथा ट्रक जस्ता ठुला सवारी साधनहरु भने अगाडी बढ्न नदिइएको केसीले बताइन्।
उनले सडक भासिएको ठाउँमा अब के गर्ने भन्ने अध्ययन गर्न विभागका इन्जिनियरहरूको टोली स्थलगत निरीक्षणमा रहेको जानकारी दिइन्। ‘यो ठाउँमा बेलिब्रिज हाल्न मिल्दैन। तलैबाट पर्खाल लगाउने विकल्प छ। बर्खाको समय भएकाले अहिले त्यो काम गर्न जोखिम हुन्छ,’ उनले भनिन्,‘के गर्ने भन्नेबारे हामी अध्ययन गरिरहेका छौं।’ पहरो काटेर सडक बनाउने विकल्प पनि रहेको उनले बताइन्।
मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।