पोखरा महानगरपालिका २४ को वडाध्यक्ष पदमा चुनाव हारेपछि नेकपा एमालेमा असन्तुष्टि जनाउदै वडा कमिटी उपाध्यक्षसहित पांच सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
शनिवार वडा कमिटी उपाध्यक्ष उत्तम गिरीसहित सदस्यहरु थमन गिरी, बलबहादुर थापा, पार्वती गिरी (निर्मला), पवित्रा गिरी र दीपक पुरीले सामूहिक रुपमा वडा कमिटी अध्यक्षलाई राजीनामा वुझाएका हुन् ।
त्यसो त करीब दुईसय एमाले कार्यकर्ताहरुले संयुक्त राजिनामा दिने तयारी गरेको थाहा पाएपछि नेकपा एमाले जिल्ला कमिटि सदस्य एकराज गिरि कास्कीकोट पुगेर कुरा मिलाए पछि उनीहरुको संयुक्त राजिनामा रोकिएको प्राप्त समाचारमा जनाइएको छ। अन्त्यमा एमाले वडा कमिटि उपाध्यक्ष उत्तम गिरि लगायत पांच जनाले नैतिकताका आधारमा संयुक्त राजिनामा दिएका हुन्।
भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा पोखरा महानगरपालिका वडा नं २४ मा एमालेका उम्मेदवार रामचन्द्र थापालाई हराउँदै कांग्रेसका उम्मेदवार भरतबहादुर अधिकारी विजयी भएका थिए । वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका थिए ।
वडाध्यक्षमा पार्टीको उमेदवारले हार व्यहोर्दा जिम्मेवारी ठानी नैतिकताको आधारमा राजीनामा दिएको उक्त राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
‘हामी वडा कमिटिको विभिन्न पदमा रहेर कार्यसम्पादन गरेका कमिटिका तपशिलका सदस्यहरुले पाटीको वडाध्यक्ष पदका उमेदवारले व्यहोरेको हारले पार्टीलाई पुगेको अपुरणीय क्षति हुनुमा हामीले आफूलाई पनि जिम्मेवार ठानी पार्टीको गौरवशाली इतिहासलाई जोगाउन नसकेकोले नैतिकताको आधारमा आजको मितिवाट वडा कमिटी–२४ को कुनै पनि पदीयमा जिम्मेवारी नरहने गरी सयुक्त रुपमा राजीनामा पेश गर्दछौं,’ उक्त राजीनामा पत्रमा भनिएको छ ।
उनीहरुले आफ्नै पार्टीबाट अन्तरघात हुँदा पार्टीले हार व्यहोरेको बताएका छन् । भविष्यमा पार्टीलाई यस्ता कुकृत्यवाट बचाएर पार्टीको विरासतलाई संजीवनी प्रदान गर्न पार्टीभित्रका अन्तरघातीको छानविन गरी कडा कारबाही गर्न उनीहरुले माग गरेका छन् ।