नेपाली कांग्रेसले आयोजना गरेको बिजय जुलुशमा एमालेका कार्यकर्ताले आक्रमण गर्दा बीरगन्जमा छ जना नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन्।
वीरगञ्ज महानगरपालिका–२७ को अध्याक्षमा नेपाली कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएको घोषणा भएपछी कांग्रेसका कार्यकर्ताले बिजय जुलुश गरेका थिए। सो जुलुश बिहीबार राति नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।
आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चार जना उपचारपछि घर फर्किए सकेका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।
विजयी उत्सव मनाइरहेको समयमा वडाध्यक्षमा पराजित एमालेका प्रदीपसहितको समूहले लाठीले कुटपिट गरेको घाइतेहरुले बताएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा प्रदिपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदीपसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहा पक्राउ परेका हुन् । घाइतेहरुले घटनामा निवर्तमान वडाध्यक्षमा पराजित उम्मेदवार प्रदीपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ को अध्यक्षमा १५१६ मत ल्याएर कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएका थिए । नेकपा एमालेका प्रदीपकुमार यादव भन्दा ४०५ मत ल्याएर कुर्मी निर्वाचित भएका हुन् । प्रदिपले १११६ मत पाए । ०७४ को निर्वाचनमा प्रदीप वडाध्यक्षमा निर्वाचित भएका थिए ।