पोखरा महानगरपालिका वडा नम्बर २० मा बिजय हासिल गरेको नेकपा एमालेको बिजय जुलुशमाथि गएराती ढुंगामुडा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषणा गरे पश्चात बाजागाजा सहित नवनिर्वाचित जनप्रतिनिधि र एमाले कार्यकर्ताहरुले बिजय र्याली गरेका थिए।
मोटरसाइकलसहितको सो बिजय र्याली राती ११ बजे पोखरा महानगरपालिका वडा नम्बर २० साबिक भलाम गाबिस वडा नम्बर २ तल्लाचौरस्थित सानोपाटनमा पुगेको बेला ढुंगामुडा भएको हो। ढुंगामुडाकाकारण र्याली केही बेर रोकिएर अघि बढ्न खोजे पनि नदिइए पछि विवाद नगरी फर्किएको थियो। यसैबीच आज नेकपा एमालेले बिजय र्यालीको आयोजना गर्दैछ।
नेकपा एमालेभित्र ब्यापक अन्तरघात भएर लालकिल्ला भनिएका वडाहरु पनि भकाभक नेपाली कांग्रेसले जितिरहेको अवस्थामा पोखरा २० लाई भने एमालेले एमालेको गढ़कै रुपमा जोगाउन सफल भएको छ। पोखरा २० मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका गङ्गा केसी तथा सदस्यहरुमा रुपा नेपाली, मिना पौडेल, गंजमान गुरुङ र उत्तम गुरुङ बिजयी बनेका छन्।

बिगतमा सहजै जित्ने एमालेले यस पटक भने त्यति सहजता महशुश गर्न पाएन। यसभन्दा अघिको चुनाबमा एमालेका सिम गुरुङसंग झन्डै छसय मतले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र अधिकारी यसपटक गंगा केसीसँग करीब दुई सय मतान्तान्तरले पराजित भएका छन्।
नेकपा एमालेबाट बिजयी गंगा केसीले एकहजार दुई मत ल्याएका छन् भने पराजित निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र अधिकारीले आठसय ८३ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसको बागी उम्मेदवार तोरण गुरुङले चारसय ४८ मत पाएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार सुशील बस्नेतले दुईसय ४२ र राप्रपाका उदयबहादुर कार्कीले ७० मत पाएका छन्।

पोखरा २० मा सत्ता रुढ दलहरुको गठबन्धन हुन् नसक्दा नेकपा एमालेलाई आफ्नो वर्चश्व कायम गर्न सहज बनेको देखिएको छ। जिल्लास्तरमा गठबन्धनका तर्फबाट पोखरा २० को नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भए पनि स्थानीय स्तरमा सहमति हुन सकेन। फलस्वरूप नेपाली कांग्रेसले पार्टीका क्षेत्रीय सचिव एबम बिगतमा सोही पदमा पराजित भएका महेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको थियो भने नेकपा एकीकृत समाजवादीले पृथ्वी नारायण क्याम्पसमा स्ववियु उपसभापति भएर काम गरिसकेका युवा सुशोल बस्नेतलाई उम्मेदवार बनाएको थियो। त्यसमा पनि पटक पटक एउटै व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टि जनाएर नेपाली कांग्रेसका युवा नेता तोरण गुरुङले बागी उम्मेदवारी दर्ता गराएका थिए।
जिल्लास्तरमा सहमति हुदा पनि सानो पार्टी भनेर नेकपा एकीकृत समजवादीलाई होच्याइनु र सत्तारुढ गठबन्धनको ठुलो दल भनिएको नेपाली कांग्रेसले आन्तरिक ब्यबस्थापन गर्न नसकी बागी उम्मेदवारी पर्नुले पोखरा २० मा सत्तारुढ गठबन्धन पराजित बहेको देखिएको छ।
बिगतमा झन्डै सात सय मतान्तरले जितेको एमाले यसपाली झन्डै दुइसय मतान्तरमा सिमित भएको छ। त्यसो त एमालेभित्रकै कमजोर उम्मेदवार ठानिएका केसीको मत कम आउनुमा उनको साबिक गृह वडा भलाम १ बाट नै अर्का सशक्त युवा सुशील बस्नेतको उम्मेदवारी पर्नुलाई ठानिएको छ। नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका बस्नेतले झन्डै साढे दुईसय मत पाएका छन्।