पोखरामा आयोजित प्रशिक्षण कार्यक्रम सकेर बाँकेस्थित घरमा जाँदै गर्दा गिरफ्तार भएका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ झन्डै पांच घण्टा पछि रिहा भएका छन्।
उनलाई सामान्य सोधपुछ गरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीसंगै आज बिहान करीब चार बजे गिरफ्तार भएका उनका सहयोगीहरु राजेन्द्र साउद र अचल मोक्तान पनि रिहा भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला कमिटि कास्कीद्वारा बुधबार पोखरामा आयोजित प्रशिक्षण कार्यक्रम सकेर साधारण बसमार्फत आफ्नो दुई सहयोगीसहित संयोजक बास्तोला बाँकेस्थित आफ्नो घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई “षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको” नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट नेता हेमन्त प्रकाश ओलॊ ‘सुदर्शन’ले एक प्रेस बिज्ञप्ति जारी गरेर संयोजक कञ्चनलाई नियोजित रूपमा षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको भन्दै संयोजक कञ्चनलाई बिनासर्त तत्काल रिहा नगरिए देशव्यापी सङ्घर्ष हुने र त्यसको जबाफदेही सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् ।
बिज्ञप्तिमा “रुपन्देहीको बुटवलमा बुधबार साँझ भएको प्रेसर कुकर बम बिस्फोटसँग जोडेर संयोजक बास्तोलालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको” उल्लेख गरिएको छ।
बुटवल घटनाको जिम्मा नेकपा (माओवादी)ले लिइसकेको अवस्थामा त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । साथै चुनाव बहिष्कार गर्ने आफूहरूको कुनै नीति नरहेको समेत स्पष्ट पारेको छ।