पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।
हुप्सेकोट कांग्रेसबाट गाउँपालिकामा अध्यक्षकी उम्मेदवार लक्ष्मी पाण्डेले एमालेको झण्डा बोकेर प्रचारमा आएको टोलीले नियोजितरुपमा आक्रमण गरेको बताइन्। पाण्डेले ज्यान जोगाउन कार्यकर्ताको घरमा पस्दा पनि घर घेरेर आफूमाथि आक्रमण गरिएको दाबी गरिन्।
उनीहरुले पिछा गरेको थाहा पाएपछि राति स्थानीय बिरु कुमालको घरमा छिरेको तर सोही स्थानमा पुगेर उनीहरूले आक्रमण गरेको पाण्डेको भनाइ छ । आक्रमणबाट पाण्डे चढेको गाडीमा पनि क्षति पुगेको छ ।
चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।