आसन्न स्थानीय तहको चुनावका लागि पोखराको प्रमुखमा पहिलो दिन बिप्लव नेतृत्वको नेपाल कम्युनिस्थ पार्टीका नेतासहित ११ जनाको मनोनयन दर्ता भएको छ भने उपप्रमुखमा चार जनाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी कुल ३८ जनाको मनोनयन लिइएको छ । वडाध्यक्षमा १७ र सदस्यमा ६ जनाले उम्मेदवारी दिएका छन् । पोखरामा कुल ३३ वडा वटा छन् । पहिलो दिन ठूला दलबाहेक साना तथा स्वतन्त्रले मनोनयन दिएका हुन् ।
पोखराको मेयर पदमा स्वतन्ततर्फबाट अटेरी समुहका संयोजक खड्कराज पौडेल ‘गणेश’, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बिशेष कमिटि सदस्य किसान सिंह गुरुङ, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ र नवराज बास्तोलाले उम्मेदवारी दिएका छन्। त्यस्तै मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ र नेपाली जनता दलका मुक्तिनाथ सुवेदीले पनि पोखराको मेयर पदमा मनोनयन दिएका छन् ।
उपमेयर पदमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेत्री सोममाया बिक, सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ र राप्रपा नेपालबाट चिना दवाडीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुले बताए ।


