कोरोनाभाइरस (कोभिड–१९)का कारण छिमेकी देश भारत र चीनका केही स्थानहरुमा कडा खालका लकडाउन भैरहेको समाचारहरु सार्वजनिक भैरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नेपालीहरुलाई कोभिड–१९ बाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेकी हुन्।
पछिल्लो समय कोरोना सङ्क्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको भन्दै मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा देशभर संचालित कोरोना महामारीबिरुद्धको खोप अभियानमा सहभागी भएर कोरोना विरुद्धको खोप लगाउन, लगाउन प्रेरित गर्न र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ।
पछिल्ला केहि दिनयता छिमेकी राष्ट्रहरूमा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम रहेकाले रोकथाम र नियन्त्रणका प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन उनको आग्रह छ ।
