चिनियाँ कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना नदिएकोमा चीन असन्तुष्ट

चिनियाँ कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना नदिएकोमा चीन असन्तुष्ट


  • जन संचार
  • बिहिबार, ८ बैशाख २०७९
  • 4.6K
    Shares

चिनियाँ राजदूत होउ यान्छी, प्रम शेर बहादुर देउबा

बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने नेपाल सरकारको निर्णयप्रति चीनले असन्तुष्टि जनाएको छ।

नेपालस्थित चिनियाँ दूतावासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताइन्।

‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ। सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ,’ यान्छीले भनिन्,‘यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ।’

केपी शर्मा ओली सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनअघि १२ सय मेगावाटको यो आयोजना आफैं बनाउने निर्णय गरेको हो। राजदूत यान्छीले नेपालमा चिनियाँ लगानीकर्तालाई यस्ता निर्णयले गाह्रो पारेको गुनासो गरिन्।

उनले चिनियाँ कम्पनीहरूले नेपालमा आयोजना बनाउँदा समयमै भुक्तानी नपाउने अर्को समस्या भोगी रहेको दुखेसो पोखिन्।
आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, रूख कटानलगायत अरू आधारभूत कुरा समयमै हुन नसक्दा चिनियाँ कम्पनीलाई काम गर्न समस्या परेको राजदूत यान्छीले बताइन्। ‘यस्ता समस्याहरू समाधान गर्न नेपाली पक्षले सहयोग गर्ने हाम्रो अपेक्षा छ,’ यान्छीले भनिन्।

प्रतिक्रिया