गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने निर्णय सार्वजनिक भए पछि आक्रोशित बनेको नेपाली कांग्रेस पोखरा महानगर समितिले पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्दै १८ जनालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिश गरेको छ।
बिहीबार दिनभर पोखरामा आयोजित बैठकपछि शनिबार आकांक्षा राखेर उम्मेदवारी दर्ता गराएका १८ जना आकांक्षीहरुलाई मेयर पदका लागि केन्द्रमा पठाउने निर्णय गरेको हो। सिफारिस हुनेमा बहालवाला मन्त्री विन्दुकुमार थापासहित सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् । उम्मेदवार सिफारिशसंगै त्यही बैठकले कास्की जिल्ला पार्टी कार्यालयमा लगाइएको ताला खोल्ने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छेले पोखरा महानगरको मेयर पदका बारेको निर्णय टुंगो नलागिसकेको अवस्थामा सिफारिश गरी पठाए आफुले पनि छलफलका लागि केन्द्रमा पठाइदिने आअश्वासन दिएपछि आफुहरुले मेयर पदका आकांक्षीहरुको नाम सिफारिश गरेको बताए।
पोखरा महानगरको मेयर पदका लागि आकांक्षीहरुको आबेदन लिएर परिचय समेत गराई सकेको अवस्थामा पोखराको मेयर पदमा अर्कै पार्टीलाई समर्थन गर्ने निर्णय आउनु दु:खद भएको बताउदै उनले पोखरा महानगरको मेयरमा पार्टीले सिफारिश गरेका व्यक्ति उम्मेदवार हुनुपर्नेमा जोड दिए।
सभापति बिजुक्छेले यदि पोखरा महानगर समितिको निर्णय विपरीतको फैसला आएमा स्वतन्त्र उम्मेदवार दिने बारेमा कुनै निर्णय नभएको जानकारी दिए। उनले भने,”पोखरा महानगरको मेयर पदमा नेपाली कांग्रेसको उम्मेदवार भएन भने स्वतन्त्र उम्मेदवार दिने भन्ने कुरा आधिकारिक हैन। त्यस बारेमा कुनै निर्णय भएको छैन।
नेपाली कांग्रेस पोखरा महानगर समितिका बहादुर थापाले भने पार्टी केन्द्रले निर्णय नसच्याए आफुहरुले स्वतन्त्र उम्मेदवार दिने सार्वजनिक अभिव्यक्ति दिएका छन्।
नेपाली कांग्रेसकै अर्को पक्षले पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक अभिव्यक्ति दिनु गैर जिम्मेवार भनिरहेको छ। त्यस समुहको के जिकिर छ भने अब हुने गठबन्धनको बैठकमा पोखरा महानगरको उपमेयर तथा वडाहरू र कास्कीका अन्य गाउपालिकामा पार्टीको तर्फबाट बढी पद दाबी गर्न त्यस्तो प्रपन्च रचिएको हो। साथै पोखराको मेयर पद अर्को पार्टीले पाए पनि बाँकी पदहरुमा आफ्नो पक्षको बाहुल्यता कायम गर्न दबाब दिन पार्टी कार्यालयमा तालाबन्दी गर्ने र स्वतन्त्र उम्मेदवारी दिने धम्कि दिइएको हुनसक्ने नेपाली कांग्रेसका गठबन्धन हुनुपर्ने पक्षधर नेताहरुको बुझाई छ। आसन्न चुनाबमा बढी उम्मेदवार दिलाउन आफ्नो पक्षले पहल गरेको देखाएर अब निकट भविष्यमा हुने संघ तथा प्रदेश सरकारको चुनाबमा आफुहरु प्राथमिकतामा पर्न जालसाजीपूर्ण ब्यबहार गरिएको उनीहरुको बुझाई छ।