मुलुकमा आर्थिक संकट चलिरहेको छ। ढुकुटीमा बिदेशी मुद्रा संचिति कम हुँदै गैरहेको छ। मुलुक जुनसुकै बेला श्रीलंका जस्तै टाट पल्टने हो कि भन्ने बारेमा सर्वत्र चिन्ता बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति संकटपूर्ण भएको भन्दै सरकारले निजी गाडी आयातमा रोक लगाएको छ। तर कमिशनको चक्करमा परेर अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेनाका लागि झन्डै चार खर्ब गरेर दुई वटा हेलिकप्टर खरीद गर्न स्वीकृति दिएका खबरहरु सार्वजनिक भएका छन्।
०७४ सालदेखि अर्थ मन्त्रालयमा रोकिएको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्मा र उनी निकटस्थ बिचौलियाबीचको मिलेमतोमा रुसबाट ‘एमआई–१७ भी ५’ का दुई हेलिकोप्टर किन्न लागिएको आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ।
नेपाली सेनाले ०७४ पुस १२ गते रुसी कम्पनी ‘रोजोबोरोनएक्स्पोर्ट’ सँग दुईवटा ‘एमआई–१७ भी ५’ हेलिकोप्टर खरिदका लागि सम्झौता गरेको थियो । त्यसबेला रुसी सरकारी कम्पनीका तर्फबाट दूतावासका अधिकारी र नेपालका तर्फबाट सैनिक मुख्यालयका एक प्रतिनिधिबीच सम्झौता भएको थियो । हालसम्म रोकिएको फाइल अहिले आएर अर्थमन्त्री शर्माकै अग्रसरतामा त्यो फाइल ब्युँताएर हेलिकोप्टर खरिद गर्न बजेट दिने निर्णय भएको समाचारमा बताइएको छ।
रुसमा निर्मित यी हेलिकोप्टर १६.४ मिलियन अमेरिकी डलरदेखि १८.४ मिलियन अमेरिकी डलरसम्ममा बिक्री हुने गरेका छन् । दुई हेलिकोप्टर खरिदका लागि नेपालले करिब साढे ४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । हेलिकोप्टर खरिदबिक्री प्रक्रियाका लागि रसियन टोली हाल काठमाडौंमा छ । टोलीले नेपाली सेनाका उच्च अधिकारी र अर्थमन्त्री शर्मासँग शृंखलाबद्ध भेटघाट गरिरहेको छ । मंगलबार मात्रै अर्थमन्त्री शर्मा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको थियो । ‘भेटघाटमा अन्य अधिकारीलाई प्रवेश दिइएको थिएन । भेटमा अर्का एक व्यक्ति पनि थिए, जो नेपाली सेना तथा सरकारी अधिकारी होइनन्,’ अर्थ स्रोत भन्छ ।