नेकपाको कास्कीमा बिबाद उत्कर्षमा : पार्टी केन्द्रीय सदस्य उमा भुजेलमाथि कारबाहीको माग, लगाइए गम्भीर आरोपहरु

नेकपाको कास्कीमा बिबाद उत्कर्षमा : पार्टी केन्द्रीय सदस्य उमा भुजेलमाथि कारबाहीको माग, लगाइए गम्भीर आरोपहरु


  • जन संचार
  • सोमबार, ५ बैशाख २०७९
  • 3.8K
    Shares

उमा भुजेल 'शिलु', गोकुल पराजुली

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र आसन्न स्थानीय तहको चुनाबमा भाग लिने कि बहिष्कार गर्ने भन्ने बिबाद उत्कर्षमा पुगेको छ। यही बिबादका कारण नेकपाको कास्की जिल्ला समितिमा एक समुहले अर्को समुहलाई कारबाही गरेको भन्दै बिज्ञप्तिहरु निकालिएका छन्।

चुनाब उपयोग गर्ने पक्षधर पार्टी केन्द्रीय सदस्य एबम कास्की जिल्ला पार्टी इन्चार्ज उमा भुजेल “शिलु”ले कारबाही गरेको भनिएका निवर्तमान जिल्ला सेक्रेटरी गोकुल पराजुल्ली लगायतका तीन जनाले उक्त कारबाही अस्वीकार गरेको घोषणा गरेका छन्।

पार्टीको केन्द्रीय सर्कुलरमा समेत जिल्ला सेक्रेटरीबाट हटाइएको भनेर खुलासा गरिएका गोकुल पराजुली लगायत १७ जना कास्की जिल्ला पार्टी सदस्यहरुले आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै उक्त कारबाही अस्वीकार गरिएको घोषणा गरेका हुन्।
नेकपा कास्कीमा चुनाब बिरोधी पक्षधरको बैठक

आज जारी संयुक्त बिज्ञप्तिमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल `शिलु´ लाई कारबाही गर्न केन्द्रीय समितिसंग आव्हान गरिएको छ भने पार्टीको कपिलबस्तुमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट जिल्ला सेक्रेटरी बनाइएका काजी गुरुङलाई साधारण सदस्य रहने गरी कारबाही गरिएको जानकारी दिइएको छ।

पार्टीको कपिलवस्तु बैठकले पदमुक्त गरिएको भनिएका गोकुल पराजुलीले उक्त संयुक्त बिज्ञप्तिमा कास्की जिल्ला सेक्रेटरी भनेर हस्ताक्षर गरिएको छ भने उनी समेत १७ जनाले जिल्ला पार्टी सदस्यका रुपमा हस्ताक्षर गरेका छन्।

पार्टीले पदमुक्त गरेको भनिएका गोकुल पराजुलीको अध्यक्षतामा बसेको नेकपा जिल्ला समिति कास्कीको आइतबारको बैठकले पार्टीको जिल्ला इन्चार्ज उमा भुजेल “शिलु”ले हदैसम्मको गुटवादी, फुटवादी, निरंकुश र संगठनात्मक रुपले घोर स्वेच्छाचारी भएको भन्दै कास्की जिल्लाको इन्चार्जबाट बहिस्कार गर्ने निर्णय गरिएको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त संयुक्त विज्ञप्तिमार्फत कास्की जिल्ला पार्टी इन्चार्ज उमा भुजेल `शिलु´ले संगठनलाई क्षतबिक्षत पारेको, लज्जास्पद गुटबन्दी गरेको, बर्षौसम्म आर्थिक हिसाब किताब नदेखाएको, दलाल – माफियाहरुसंग आर्थिक संबन्ध बनाएको, जथाभावी संगठनात्मक निर्णय गरी ईमानदार कार्यकर्तालाई वाईपास गर्ने, भ्रम छर्ने, धम्काउने गरेको, हैसियतको नाङ्गो दुरुपयोग गरी पार्टीको निति – बिधि – अनुशासन र मर्यादा विपरीत निरन्तर हर्कत गरेको आरोप लगाइएको छ ।

बिचार, नीति र सिद्धान्तलाई धज्जि उडाउदै आफ्नो निहित गुटवादी स्वार्थ पुरा गर्न तलदेखी माथिसम्मका कार्यकर्तालाई पैसाको भरमा संबन्ध बढाउने, डर धम्की र पैसाकै बलमा कार्यकर्तालाई किनबेच गर्ने जस्ता सर्वहारावादी मुल्य-मान्यता विरुद्द गम्भिर प्रकृतिका गल्तिहरु पार्टी जिल्ला इन्चार्ज उमा भुजेल `शिलु´ ले गरिरहेको जिकिर गर्दै उक्त संयुक्त बिज्ञप्तिमार्फत पार्टीलाई गम्भिर नोक्शान पुर्याउने पार्टी केन्द्रीय सदस्य समेत रहेकी नेत्री `शिलु´ लाई कारवाही गर्न पार्टीको केन्द्रिय कार्यालयलाई जोडदार माग गरिएको छ।

यता पार्टीले जिल्ला सेक्रेटरी दिएको भनिएका काजी गुरुङलाई कार्यकर्तामा निराश पैदा गर्ने, समाजवाद र साम्यवाद सम्भव छैन भन्ने, पार्टीभित्र गुटवादी तथा फुटवादी क्रियाकलाप गरेको, जिल्लाको आर्थिक बिभागमा रही जिल्ला इन्चार्ज शिलुको संरक्षणमा आर्थिक अनियमितता गरेको, ईलाका र जबस मोर्चाद्वारा उत्पादनका निम्ति बुझाईएको आर्थिक रकम मनोगत रुपमा खर्च गरी पुरै पार्टीलाई गुमराहमा राख्ने काम गरेको जस्ता गम्भिर आरोप लगाउदै पार्टी सदस्यता रहने गरी कारबाही गरिएको उक्त बिज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया