सिन्धुपाल्चोक जिल्ला कारागारका एक थुनुवा आज बिहान काठमाण्डौबाट भागेका छन्।
सिन्धुपाल्चोक जिल्ला कारागारमा थुनुवा जीवन बिताई रहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बुधबार बिहान काठमाण्डौबाट भागेका हुन्।
उपचारका लागि भन्दै काठमान्डौस्थित वीर अस्पताल ल्याइएका बलात्कार मुद्दाका थुनुवा तिरुवा अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ। मंगलबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो ।
माघ १६ गते तिरुवाले आफुलाई ललाइफकाइ बलात्कार गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक्मा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले जाहेरी परेको भोलिपल्ट तिरुवालाई पक्राउ गरेको थियो।
सोही आरोपमा उनलाई जिल्ला अदालत सिन्धुपाल्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि तिरुवालाई सिन्धुपाल्चोक जिल्ला कारागार चलान गरिएको थियो। फरार रहेका थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।