मानव कंकालसहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिद्यार्थी नेपाल-भारत सीमाबाट पक्राउ

मानव कंकालसहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिद्यार्थी नेपाल-भारत सीमाबाट पक्राउ


  • जन संचार
  • मंगलबार, २९ चैत्र २०७८
  • 3.2K
    Shares

आदित्य सिन्हा

विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत एक भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायत घर भएका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो । सिन्हाको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ ।

पढाइ सकेर भारत फर्कने क्रममा रहेका सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले बताए । प्रहरीले उनको साथबाट मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १/१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८/८ वटा बरामद गरिएको जानकारी दिएको छ।

सिन्हाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए ।

नेपाल भारत सीमा नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्रले गत असोज १८ गते भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१५ बाटै मानव खप्परका टुक्राजस्तो २८ वटा र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० वटा बरामद गरेको थियो ।

प्रतिक्रिया