युरोप हिडेका ३७ जना नेपाली नागरिक मध्यराती टर्कीमा पक्राउ

युरोप हिडेका ३७ जना नेपाली नागरिक मध्यराती टर्कीमा पक्राउ


  • जन संचार
  • आइतबार, २७ चैत्र २०७८
  • 3.6K
    Shares

युरोप हिडेका ३७ जना नेपाली नागरिक मध्यराती टर्कीमा पक्राउ

युरोप हिडेका ३७ जना नेपाली नागरिक टर्कीमा पक्राउ परेका छन्।
युरोप जाने क्रममा अबैध रुपमा रातको समयमा ग्रिस छिर्न सुटेकस बोकेर तयारी अवस्थामा रहेका ३७ जना नेपाली नागरिकलाई टर्किस प्रहरीले पक्राउ गरेको हो।

टर्किस अनलाइन ईन सन हाबरका अनुसार , नेपाली बस्ने एक घरको पाँचौं तल्लामा धेरै नेपालीहरु आवतजावत गरिरहेको खबर प्रहरीले पाएपछि त्यहाँ छापा मारेको थियो । गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।

टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न नेपालीहरुले चारदेखि साढे चार लाख रुपैँयासम्म संगठित मानव तस्करका एजेन्टहरुलाई बुझाएको सूचना आफूले पाएको बताए । उनले भने, ‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट नजान र त्यो खतरनाक रहेको बताउँदै आएका छौं । तर त्यसैगरी ग्रिस छिरेकाहरुले देखाउने प्रलोभनमा नेपालीहरु धमाधम परिरहेका छन् ।’

अवैध रुपमा टर्कीबाट ग्रिस छिर्ने क्रममा हुने दुर्घटनामा नेपालीहरुको मृत्यु हुने श्रृंखला निरन्तर रहे पनि नेपालीहरु संगठित मानव तस्करको भरमा अवैध रुपमा ग्रिस छिर्न जस्तोसुकै जोखिम उठाइरहेको देखिन्छ । गत कार्तिक २५ गते टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्यु भएको थियो । त्यसलगत्तै माघ २० गते पनि अवैध रुपमा गिस छिर्न लागेका आप्रवासीहरुलाई सीमा सुरक्षा अधिकारीहरुले फिर्ता पठाएपछि फर्किने क्रममा अत्यधिक चिसोका कारण १९ आप्रवासीहरुको मृत्यु भएको थियो । जसमा केही नेपालीहरुको पनि मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले इन्टरपोलमार्फत बुझबुझारथ थालिरहेको छ ।

अध्यक्ष घिसिङले संगठित मानव तस्करका विभिन्न एजेन्टहरुको भर परेर लाखौं खर्चेर जोखिमपूर्ण तरिकाले ग्रिस छिर्ने क्रममा नेपालीहरु जोखिममा पर्दै आएको बताए । उनले भने, ‘हामीले यसरी जान खोज्नेलाई यो गलत तरिका हो भनेका भन्यै छौं तर पनि यस्तो क्रम रोकिएको छैन ।’

प्रतिक्रिया