माओवादी केन्द्र कास्कीमा गुटगत लडाई तीब्र : छलफलका लागि प्रचण्डले नेताद्वय करण र रुपकलाई काठमाण्डौ बोलाए

माओवादी केन्द्र कास्कीमा गुटगत लडाई तीब्र : छलफलका लागि प्रचण्डले नेताद्वय करण र रुपकलाई काठमाण्डौ बोलाए


  • जन संचार
  • मंगलबार, २२ चैत्र २०७८
  • 5.8K
    Shares

दिपक कोइराला 'रुपक', राजकाजी गुरुङ 'करण'

स्थानीय तहको चुनाबको मुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को कास्की जिल्लामा गुटको लडाई तीब्र भएको छ। माओवादी केन्द्रको कास्की जिल्लामा दुइ जना केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’ र दिपक कोइराला ‘रुपक’बीच तीब्र गुटगत लडाई छ।

चुनाबको मुखमा यही गुटगत लडाईका कारण पार्टीको पोखरा महानगर कमिटिमा समानान्तर कमिटि बन्ने देखिएपछि अध्यक्ष प्रचण्डले बिबाद समाधान गर्न भन्दै नेताद्वय दिपक कोइराला ‘रुपक’, राजकाजी गुरुङ ‘करण’लाई आज काठमान्डौ बोलाएका छन्। नेता करण पार्टीको कास्की जिल्ला इन्चार्ज हुन् भने नेता रुपक पोखरा महानगर कमिटि इन्चार्ज रहेका छन्।

त्यसो त कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनलाई हेर्दा हरेक पार्टीमा कास्की जिल्लाभित्रको स्थानीय नेता र जिल्ला बाहिरको अस्थानीय नेताको रुपमा गुटगत लडाई विद्यमान छ। तर माओवादी केन्द्रको यस गुटगत लडाई भने त्यस्तो छैन। दुवै जना कास्की जिल्ला बाहिरबाट आएर कास्की जिल्लामा स्थापित नेताहरु हुन्। गुरुङ पर्वतबाट र कोइराला चितवनबाट पोखरा आएर स्थापित नेता हुन्। त्यसो त दुवै जना जनयुद्ध कालमा कास्की जिल्लामा नै सक्रिय बिशेष सैन्य दस्तामा बसेर काम गरेका नेताहरु हुन्।

एउटा गुटको नेतृत्व गरिरहेका दिपक कोइराला ‘रुपक’ले आफ्नो पोखरा महानगर कमिटिको इन्चार्जका हैसियतले यस भन्दा अघि नै भेला बोलाएर पुराना कम्युनिष्ट नेता कृष्ण गिरि ‘बिज्ञान’को अध्यक्षतामा नयाँ कार्य समिति घोषणा गरि सकेका छन् भने अर्को गुटको नेतृत्व गरिरहेका कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ ले आफुलाई बेवास्ता गरेर पोखरा महानगर समिति बनाएको भन्दै असन्तुष्टि जनाएका छन्।

कोइरालाले बनाएको ८३ सदस्यीय समितिप्रति असन्तुष्टि जनाउदै गुरुङ गुटका ६० जना कार्य समिति सदस्यहरुले पार्टीको हेडक्वार्टरमा उजुरी हालेर बिधि सम्मत नयाँ कार्य समिति चयनको माग गरेका छन्।

कोइराला गुटका गिरीलाई हटाएर गुरुङले आफ्नो समुहका शिवजी लामिछानेलाई पोखरा महानगर कमिटिको अध्यक्ष र बिपिन आचार्यलाई सचिव बनाउन चाहिरहेका समाचारस्रोतहरुको दाबी छ। यही योजना अनुसार गुरुङ समुहले आज पोखरा महानगर किमितिको भेला बोलाएको थियो। तर पोखरा महानगर कमिटिका इन्चार्ज दिपक कोइराला ‘रुपक’ले हिजो एक बिज्ञप्ति निकालेर आज कुनै भेला नभएको जानकारी गराएको थियो।

गुरुङ गुट नयाँ कार्य समिति बनाएरै अघि बढ्ने र कोइराला गुट त्यस भेलालाई रोकेरै छाड्ने अन्तिम तयारीमा रहेकै बेला गुटको नेतृत्व गरिरहेका नेताद्वय कोइराला र गुरुङ काठमाण्डौ हान्निएका छन्। पार्टी अध्यक्ष प्रचण्डले आज बोलाइएको भेला रोकेर दुवै जनालाई छलफलका लागि काठमाण्डौ बोलाएपछि उनीहरु काठमाण्डौ हान्निएका हुन्।

पार्टी अध्यक्ष प्रचण्डको उपस्थ्तित्मा छलफल भै तत्काललाई समस्या समाधान त होला तर कास्कीमा देखिएको यी दुई गुटको लडाईमा विभाजित अन्य नेता-कार्यकर्ताले के गर्लान ? त्यो भने हेर्न बाँकी छ।

कुनै बेला पार्टी अध्यक्ष प्रचण्डको किचेन क्याबिनेट सदस्य भनेर चिनिने गुरुङको कास्की जिल्लामा राम्रो पकड रहेको थियो। तर पछिल्लो समय उनलाई विभिन्न आर्थिक काण्डमा जोडिएको भन्दै ब्यापक टिकाटिप्पणी हुने गरेको छ भने पार्टीकै स्वामित्वमा रहेको गण्डकी मिडिया हाउसमा भएको अनियमितता र बेथितिका लागि पार्टीका नेता कार्यकर्ताले नेता गुरुङलाई नै दोष दिने गरेका छन्।

गुरुङको तुलनामा इमान्दार युवा नेता मानिने कोइरालालाई पारिवारवादमा रमाउने नेताको रुपमा टिप्पणी गर्ने गरिन्छ। उनी आफु निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हुन् भने उनकी धर्मापतनी तेजकुमारी पौडेल पार्टी केन्द्रीय सदस्य रहेकी छिन। उनकी धर्मपत्नी पौडेलकी भाउजु गायत्री दुरा ‘कुसुम’ गण्डकी प्रदेश सभामा प्रमुख सचेतक रहेकी छिन भने नेत्री कुसुमका श्रीमान बखान सिङ्ग गुरुङ ‘आभास’ पार्टीको कास्की जिल्ला सेक्रेटरी रहेका छन्।

नेता कोइरालालाई पारिवारवाद्को आरोप लागे पनि उनीसंग जोडिएका सबै नेताहरु जनयुद्ध कालमा खटिएका कर्मठ नेताहरु हुन्।

प्रतिक्रिया