भरतपुरको मेयर नेपाली कांग्रेसले नछोड्ने, गठबन्धन कायमै राख्ने

भरतपुरको मेयर नेपाली कांग्रेसले नछोड्ने, गठबन्धन कायमै राख्ने


  • जन संचार
  • आइतबार, २० चैत्र २०७८
  • 3.7K
    Shares

नेपाली कांग्रेस चितवनको बैठक

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर लिएर अन्य दलसंग गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय कमलनगर, नारायणढमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

कांग्रेस केन्द्रको सर्कुलेसनको आधारमा अन्य दलसंग गठबन्धन गर्ने तर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नछोड्ने निर्णय गरिएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।

सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्ला सभापति राजेश्वर खनालले प्रमुखमा कांग्रेसले उम्मेद्वारी दिएर उपप्रमुख र अन्य सदस्यहरुमा तालमेल गर्न सकिने बताए । जिल्लामा रहेका ७ वटा पालिकाहरुमा छुट्टाछुट्टै संयन्त्र निर्माण गरि तालमेल प्रक्रियालाई अघि बढाइने उनले जानकारी दिए ।

उनले तालमेलका लागि १० वटा सूचकहरुको आधारमा छलफल गर्दा यसपटक कांग्रेसकै उम्मेद्वार हुनुपर्ने सुझावहरु आएकाले कांग्रेसले महानगर नछोड्ने निश्कर्षमा पुगेको बताए । सभापति खनालले उम्मेद्वार छनोटको प्रक्रिया भोलिबाट नै चितवनका सबै पालिकाहरुमा सुरु हुने बताए ।

पालिकाहरुले सिफारिस गरेका उम्मेद्वारहरुको नामलाई जिल्ला शाखाले आफ्नो दृष्टिकोण र सुझावसहित केन्द्रमा सिफारिस गर्ने उनले बताए । सोही आधारमा केन्द्रले निर्णय गरेका उम्मेद्वारहरुलाई जिताउन कांग्रेस चितवन लागि पर्ने सभापति खनालको भनाई छ ।

प्रतिक्रिया