गएराती प्रहरीचौकी नजिकै रहेको घरमा आगजनी हुँदा पनि प्रहरीले थाहा नपाएको भन्दै आक्रोशित बनेका धनुषाका स्थानीय बासिन्दा र प्रहरीबीच आज झडप भएको छ। झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
प्राप्त समाचार अनुसार, धनुषाको विदेह नगरपालिकास्थित प्रहरी चौकीको ५० मिटर टाढा रहेको सन्तोष कुमार मण्डलको पसलमा गएराती अर्थात शनिबार ११ बजे आगजनी भएको थियो। ५० मिटर टाढा रहेको पसलमा आगजनी हुँदा पनि प्रहरीले थाहा नपाएको भन्दै स्थानीय बासिन्दाले आज बिहानैदेखि बिरोध स्वरुप डक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए। सडक खण्ड खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । अवस्थालाई नियन्त्रण लिनका लागि प्रहरीले आठ राउण्ड अश्रुग्याँस प्रहार गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमजोरी रहेको स्वीकार्दै उनले प्रहरी चौकीमा कार्यरत प्रहरीलाई आन्तरिक कारबाहीको तयारी भइरहेको बताए ।
प्रहरी चौकीका इन्चार्जलाई कारबाही गरिने भएपछि मात्र स्थानीय र प्रहरीबीच वार्ताको वातावरण बनेको थियो । आगलागीले किराना पसलको सम्पूर्ण सामग्री तथा कपडासमेत जलेर करिब १० लाख भन्दा बढीको क्षति भएको बताइएको छ ।