स्थानीय प्रशासनलाई चुनौती दिदै पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले २० प्रतिशत सम्म सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ।
इन्धनमा चरम मुल्यवृद्धि भएको भन्दै पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले स्थानीय प्रशासनलाई चुनौती चैत १५ गतेदेखि लागू हुने गरी २० प्रतिशतसम्म सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था कार्यालय गण्डकी र जिल्ला प्रहरी कार्यालय कास्कीलाई बोधार्थ दिएर कम्पनीले जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पत्र दिएको छ ।
सरकारले भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति बनाएको छ। त्यस समितिमा उपभोक्ता, ब्यबसायी, सम्बन्धित सरोकारवालाहरु रहेका। हुन्छन त्यस समितिले सिफारिश गरे पछि मात्र सवारी साधनको भाडा वृद्धि हुनसक्छ। तर त्यस समितिलाई बेवास्ता गर्दै पृथ्वी राजमार्ग बस संचालक प्रालिले आफ्ना सवारी साधनको भाडा आफै वृद्धि गरेको हो।
पृथ्वी राजमार्ग बस सन्चालक प्रालिका अध्यक्ष योगेन्द्र केसीले सरकारले यातायात व्यवसायी समितिलाई कम्पनी ऐनअनुसार रुपान्तरण गरे पनि कार्यविधि र ऐन कानुनको निर्माण नहुँदा कठिनाइ झेल्नुपरेको बताए । उनले साप्ताहिक रुपमा बढेको इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा बढाउन सरकार उदासिन बनेको आरोप पनि लगाए। ‘१०७ रुपैयाँ डिजेलको मूल्य हुँदा समायोजन भएको भाडा डिजेल १३८ पुग्दा पनि उही छ । इन्धनमा ५ रुपैयाँ बढ्दा भाडा समायोजन गर्ने सहमति भएकोमा समय सापेक्ष र वैज्ञानिक भाडादरको सिद्धान्त लागू भएन,’ उनले भने, ‘अहिलेको अवस्थामा सरकार निर्वाचन केन्द्रित मात्र भएकोले भाडा समायोजनसम्बन्धी हाम्रो माग प्रति उदासिन रहेको छ । यही बसभाडामा सेवा सन्चालन गर्न यातायात व्यवसायीहरु असमर्थ रहेकोले भाडा बढाएका हौं ।’
आफुहरुले आफ्नो माग पूरा गर्न बन्द हड्ताल जस्ता आन्दोलनका कार्यक्रम संचालन गर्नुको सट्टा सरकारी उदासिनताको बिरोधमा आफ्नो भाडा आफै बढाएर बिरोध गरिएको दाबी गरे।
२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार दुई भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ । २०६९ देखि समायोजन नभएको भाडा गत असार अन्तिममा समायोजन भएको थियो ।