उच्च अदालत दीपायलले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
श्रीमती र छोरा बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका सेनाका प्युठ दमनबहादुर चन्दको जाहेरी दर्ता नगरिएपछि उनले एसपी अधिकारी र डिआइजी कँडेलबिरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिटमा मंगलवार विपक्षी डिआइजी कंडेल र एसपी अधिकारीको नाममा कारण देखाउ आदेश जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले जाहेरी दर्ता नगरेपछि पीडित चन्द डिआइजी कँडेलको कार्यालयमा पुगेका थिए । उनले पनि नमानेपछि अदालतको ढोका घच्घचाएका हुन् ।
बैतडी मेलौली नगरपालिका–५ सेरा घर भएका प्युठ चन्दले श्रीमती र ५ वर्षको छोरालाई धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा डेरा गरेर राखेका थिए । उनी आफू मोरङको थलाहास्थित भैरब गणमा कार्यरत थिए ।
चन्दले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बंसाहाका लोकेन्द्र बिष्टले श्रीमती र छोरालाई बेचबिखनको उद्धेश्यले भारत पु–याएको आरोप लगाउदैँ आएका छन् ।
श्रीमती र छोरालाई भारत पु–याउने बिष्ट यसअघि सेनामै कार्यरत रहेको र रणध्वज गण सिलगढीबाट उपदान पाउने गरी राजीनामा दिएको बुझिएको चन्दले बताए ।