स्थानीय तहको चुनाव नजिकिदै गर्दा निर्वाचन आचार संहिता लागू हुनु अगावै १० वटा जिल्ला प्रहरी प्रमुखसहित २५ जना डिएसपीहरुको काज सरुवा गरिको छ।
प्रहरी प्रधान कार्यालय अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा आवश्यकताअनुसार काज सरुवा गरिएको जनाएको हो ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनसार काज भए सरुवासंगै पहाडी १० वटा जिल्ला प्रमुखहरु परिवर्तन भएका छन् ।
गण्डकी प्रदेश अन्तरगतको म्याग्दी जिल्लाका प्रहरी प्रमुख डिएसपी श्याम कुमार राईलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेर उनको ठाउँमा तिलक भारतीलाई पठाइएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुबाश खड्कालाई वागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा काज सरुवा गरेर उनको ठाउँमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौका प्रेम सागर केसीलाई पठाईएको छ। यसै गरी पूर्वी रुकुम प्रहरी प्रमुखमा प्रकाश डांगी, दार्चुलामा प्रतिक बिष्ट, पश्चिम रुकुमामा बिष्णु प्रसाद सोती, जाजरकोटमा सन्तोष निरौला, ओखलढुंगामा सुकदेव खनाल, सोलुखुम्बुमा सुनिल जंग शाह, हुम्लामा कृष्ण राज ओझा, ताप्लेजुङमा कैलाश राईलाई काज सरुवा गरिएको छ।

