१२ देखि १४ वर्षसम्म कैद सजायको माग गर्दै अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसन्धान प्रतिबेदनलाई आधार मानेर जिल्ला सरकारी वकिलको कार्यालयले आज तनहुँ जिल्ला अदालतमा १२ देखि १४ वर्षसम्म कैद सजायको माग गर्दै अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।
प्रहरीले यस घटनामा होटलको सिसिटिभी फुटेज, कागजात, कल डिटेल्स, अडियो टेप, अस्पतालको स्वास्थ्य परीक्षण लगायत प्रमाणको रूपमा पेस गरेको छ।
यस्तै प्रहरीले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई मतियारको रूपमा खडा गरेको छ। उनलाई पनि शाहको भन्दा आधा सजायको मागदाबी गरेको छ।
कास्की जिल्ला घर भएकी किशोरी गायिकाले आफूमाथि अभिनेता पल शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते उजुरी दर्ता गरेकी थिइन्।
आफु बिरुद्ध उजुरी परेलो थाहा पाए पछि आरोपित अभिनेता पल शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । नवलपरासी पूर्वमा शाहविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।