कैलालीको भूपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्न तीन जनालाई जिल्ला अदालत कैलालीले छाडेपनि प्रहरीले फेरी पक्राउ गरेको छ। त्यस प्रकरणमा जिल्ला अदालत कैलालीको प्रारम्भिक आदेशका बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कैलालीले उच्च अदालत दिपायलमा फैसला पुनरावलोकनका लागि मुद्दा दायर गरेपछि अभियुक्तहरुलाई प्रहरीले फेरी पक्राउ गरेको हो।
कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय बिकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँर गत मंसिर २४ गतेको जिल्ला अदालत कैलालीको आदेशपछि धरौटी बुुझाएर तारेखमा छुुटेका थिए भने अन्य नौ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाबय उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले गत फागुन ५ गते उच्च अदालतको तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएअनुुसार उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुलाई जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको हो ।
लम्कीचुुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलाली प्रहरीले बडुवालको हत्यामा संलग्न भएको आरोपमा २१ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
उनीहरुमध्ये नौ जना तत्काल र एक जनापछि पक्राउ परेर कारागार चलान भइसकेका छन् । थप तीन जनासमेत गरेर कारागार चलान हुने अभियुुक्तको संख्या १३ पुगेको छ भने अन्य ८ जना अझै फरार छन् ।