नेपाली सेनाका नक्कली क्याप्टेन सैनिक वर्दीसहित पोखराबाट पक्राउ परेका छन्।
सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट नेपाली सेनाका नक्कली क्याप्टेनलाई पक्राउ गरेको हो।
नेपाली सेनाको नक्कली क्याप्टेन बनेका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउपालिका वडा नं. ५ घर भई पोखरा महानगरपालिका वडा नं.१० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले सैनिक वर्दीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पांच वर्ष नेपाली सेनामा सिपाही पदमा जागीर खाएर छाडेका परियारले आफू शान्ति मिशनका क्रममा बिदेशमा कार्यरत नेपाली सेनाको क्याप्टेन रहेको दाबी गर्दै फेसबुक मार्फत आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान रहेको बताएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले लगाएको छ।
अर्जुन कटवाल भनि बताउने धन बहादुर नेपालीले ओखलढुङ्गा मानेभञ्ज्याङ ४ बस्ने २८ की सिर्जना तामाङको दुई जना भाईहरुलाई सिङगापुर पुलिसमा भर्ती गराउनको लागि १५ लाख रुपियाँ मध्ये मध्ये ५ लाख, जिल्ला ओखलढुङ्गा सिद्दिचरण ४ बस्ने वर्ष ३५ की सरीता खड्काको बहिनीलाई नेपाली सेनाको सिपाही पदमा नोकरी लगाउनको लागि डेढ लाख मध्ये ५० हजार र दोलखा बैदेश्वर गाउपालिका ३ बस्ने वर्ष ५२ को अर्जुन बस्नेतको छोरालाई नेपाली सेनाको सेकेण्ड लेप्टेनमा नोकरी लगाउनको लागि ५ लाख लाग्छ भनि पटक पटक रेखा क्षेत्रीको नाममा एकलाख ५० हजार र नगदै एकलाख ७५ हजार एकसय ५० सहित जम्मा चार लाख २५ हजार एकसय ४० रुपियाँ ठगी गरेको आरोप लगाइएको छ।
२०५६ सालमा देविदत्त गण काठमाण्डौबाट सिपाही पदमा जागीर शुरु गरेका धन बहादुर परियारले २०६१ सालमा सो गण धादिङको गजुरीमा रहेको अवस्थामा उक्त नोकरीबाट भागी मलेसिया पुगेका बताइएको छ। मलेशियामा बसेर रकम ठगी गरे पश्चात नेपाल फर्किएर फेश्बुक बन्द गरी पोखराको अमरसिंहचोकमा अर्जुन फ्रेश हाउस संचालन गरी बसेको अवस्थामा प्रहरीले परियारलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
अभियुक्तको साथबाट नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र, नेपाली सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र अर्जुन कटुवाल नामको चेसप्लेट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रायकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचय पत्र, खालि परिचयपत्रहरू र बा ८४ प ६९८८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त अर्जुन कटवाल भनि चिनिने धन बहादुर नेपालीबिरुद्ध प्रहरीले ठगी,आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबात सात दिनको म्याद लिएको डिएसपी तिवारीले जानकारी दिए।